राजन रावत
हुम्ला, माघ ११ गते । जिल्लाको उत्तरी क्षेत्र अन्तर्गत नाम्खा गाउँपालिका–५ को हिल्सा र ६ को हिमालपारिको गाउँ लिमीमा आवतजावत बन्द भएको छ। गत शुक्रबार राति परेको भारी हिमपातका कारण दुवै नाकाका सडक अवरुद्ध भएपछि हिल्सा र लिमीबीचको आवतजावत ठप्प भएको हो।
यसअघि गत कात्तिक महिनामा परेको हिमपातका कारण न्यालु नाका बन्द भए पनि हिल्साबाट पैदल हिँडेर सिमकोट आउने गरिएको थियो। तर शुक्रबारको हिमपातपछि उक्त नाका पनि पूर्ण रूपमा बन्द भएको लिमीको हल्जी गाउँका निग्मा तामाङले बताउनुभयो।
हिमपातका कारण लिमी उपत्यका प्राकृतिक बन्दाबन्दीमा परेको उहाँको भनाइ छ। “लिमीबाट बाहिर जाने र अन्यत्रबाट यहाँ आउने अवस्था छैन,” उहाँले भन्नुभयो। लिमीका तीन गाउँमध्ये तील र हल्जीमा मात्र अहिले मानिस बसोबास गर्दै आएका छन् भने एक वर्षअघि नै जाङ गाउँमा बसोबास बन्द भएको छ।
उहाँका अनुसार लिमी जाने मुख्य मार्ग पाँच हजार मिटर उचाइमा रहेको न्यालु नाकामा चार फिटभन्दा बढी हिउँ जम्दा सडक अवरुद्ध भएको हो।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार यस वर्ष पुस महिनामा हिमपात नभए पनि माघमा परेको हिमपातले निर्वाचनका बेला लिमी पुग्न समस्या सिर्जना भएको छ। शुक्रबार भएको हिमपात गाउँ क्षेत्रमा धेरै नपरे पनि न्यालु र नारा क्षेत्रमा बढी परेकाले सडक बन्द भएको उहाँले जानकारी दिनुभयो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट लिमीको हल्जी गाउँ निवासी टासी लामजोङ उम्मेदवार रहनुभएको छ। तर हिमपातका कारण उहाँलाई समेत आफ्नो गाउँमा चुनावी प्रचार–प्रसार गर्न जान कठिन भएको छ।
वडा अध्यक्ष तामाङका अनुसार लिमी प्रवेश गर्ने अर्को नाका पनि हिमपातले बन्द भएको छ। चार हजार ६७० मिटर उचाइको नारा लेकमा तीन फिटभन्दा बढी हिउँ जमेकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। यसका कारण हिल्सामा कार्यरत सुरक्षाकर्मी र स्थानीयवासीसमेत उतै रोकिएका छन्।
हिमपातका कारण आवतजावत बन्द भएपछि हिल्सा र लिमी आवतजावतका लागि हेलिकोप्टर चार्टर गर्नु बाहेक अन्य विकल्प नरहेको स्थानीयले बताएका छन्।