बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), माघ ११ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माग गरिएको निर्वाचन प्रहरीमा एकै परिवारका काका भतिजीले आवेदन दिएका छन् । यहाँको शुक्लाफाँटा नगरपालिका–१०, मुक्तिटोलका ४१ वर्षीय जवाहरलाल राना र उहाँकी १९ वर्षीय भतिजी सुविता रानाले निर्वाचन प्रहरीका लागि आवेदन दिनुभएको हो । घरको आर्थिक समस्याले सुविताले कक्षा १२ को पढाइ छाड्नुभएको उहाँका काकाले बताउनुभयो । उहाँका पाँच भतिजी र एक भतिजामध्ये माइली सन्तान सुविताले रोजगारीका लागि काकासँगै निर्वाचन प्रहरीमा आवेदन दिएको बताउनुभयो । जवाहरलाल पूर्वसेना पनि हुनुहुन्छ ।
कञ्चनपुरमा दुई हजार ३२७ निर्वाचन प्रहरी माग भएकोमा तीन हजार एक सय जनाले आवेदन दिएका छन् । तीमध्ये नेपाल प्रहरीतर्फ दुई हजार ९०६ र सशस्त्र प्रहरी बल, नेपालतर्फ १९४ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराले बताउनुभयो । तीमध्ये जिल्ला प्रहरी कार्यालयमा पूर्वसेनातर्फ १९२ जना, पूर्वप्रहरीतर्फ ४१ जना, पूर्वसशस्त्र १४ र पूर्वम्यादीतर्फका २९८ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरी कार्यालयमा पूर्वसेनाबाट आठ, पूर्वसशस्त्र तीन र पूर्वम्यादी १९ जनाले आवेदन दिएका छन् । निर्वाचन प्रहरी छनोट गर्दा पूर्वसुरक्षाकर्मी र पूर्वम्यादी प्रहरीलाई विशेष प्राथमिकतामा राखिने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल कार्यालयमा गरी एक हजार ३१३ महिला र एक हजार ७८७ पुरुष गरी तीन हजार एक सय जनाले आवेदन दिएका प्रनाउ बोहोराले जानकारी दिनुभयो । छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म प्रशिक्षण दिइने छ । छनोट भई नियुक्ति पाएपछि उनीहरूको कार्यावधि ४० दिनसम्म रहने छ ।