• ११ माघ २०८२, आइतबार

सन्दर्भ : कुष्ठरोग दिवस

कुष्ठरोग निर्मूलीकरण घोषणा मात्रै

blog

काठमाडौँ, माघ ११ गते । नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ सङ्क्रमित कुष्ठरोगी देखापर्ने गर्छन् । नेपालले सन् २०१० मा कुष्ठरोग निर्मूलीकरण भएको घोषणा गरेको थियो तर त्यो घोषणा घोषणामा मात्रै सीमित भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा मात्र नेपालमा ०.९९ प्रतिशत ‘प्रिभिलेन्स’ दर थियो । उक्त दर एक प्रतिशतमा पुग्नेबित्तिकै जनस्वास्थ्य समस्याका रूपमा लिइन्छ । त्यसो त सन् २०१० मा एक प्रतिशतभन्दा माथि भएका कुल जिल्ला १२ वटा थिए भने हाल ती जिल्ला बढेर १८ पुगेको छ । यसले नेपालमा कुष्ठरोग घट्नुको सट्टा झन् झन् बढ्दै छ भन्ने प्रस्ट देखाउँछ । 

२०८१/८२ सालमा मात्रै नयाँ कुष्ठरोगीको सङ्ख्या दुई हजार ४०९ रहेको छ । आर्थिक वर्षको अन्त्यमा उपचारमा रहेका कुष्ठरोगी बिरामीको सङ्ख्या दुई हजार ६०८ पुगेको छ । यो तथ्याङ्कले पनि नेपालमा कुष्ठरोग बढिरहेको प्रस्ट हुन्छ । रोग नियन्त्रण महाशाखाका अनुसार नयाँ बिरामीमध्ये १४ वर्षमुनिका बिरामीको सङ्ख्या ९१ छ । नयाँ बिरामीमध्ये अपाङ्गताको सङ्ख्या १५४ रहेको छ । नयाँ बिरामीमध्ये महिलाको सङ्ख्या एक हजार १२ छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आव २०७६/७७ मा तीन हजार २१८ जना नयाँ कुष्ठरोगी देखिएका थिए । २०२० सम्ममा अपाङ्गता शून्यमा झार्ने भनिए पनि २१८ जनामा अपाङ्गता देखिएको थियो । 

कुष्ठरोगीले अवस्था हेरेर छ महिना, एक वर्ष र दुई वर्षसम्म नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ । कुष्ठरोग नियन्त्रण शाखाको तथ्याङ्क अनुसार नेपालमा १६ जिल्ला कुष्ठरोगबाट बढी प्रभावित रहेका छन् । ती जिल्लामा प्रति १० हजारमा एक जनाभन्दा बढी सङ्क्रमित छन् । प्रत्येक वर्ष तीन हजार बढी बिरामी पाइए तापनि नेपालको जनसङ्ख्याको हिसाबमा निर्मूलीकरणकै अवस्थामा छ । १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम सङ्क्रमित पाइएमा त्यसलाई निर्मूलीकरणको अवस्था मानिन्छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपानेले  कुष्ठरोगलाई निर्मूल गर्न सङ्क्रमितको पहिचान गरी बेलैमा उपचार गर्ने र जनचेतना फैलाउनुपर्ने बताउनुभयो । मधेश प्रदेशमा अझै पनि कुष्ठरोग निवारण हुन सकेको छैन । कुष्ठरोग निवारण हुनलाई प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठरोगका सङ्क्रमित हुनु पर्दछ । मधेश प्रदेशमा कुल ८५७ जना नयाँ कुष्ठरोगी थपिएका छन् । 

लुम्बिनीमा १०.८१ प्रतिशत रोग पत्ता लाग्ने दर रहेको छ । लुम्बिनीमा ५७९ जना नयाँ रोगी रहेका छन् भने ५३६ जना उपचारमा रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यी दुई प्रदेशमा अझै प्रति १० हजारमा एकभन्दा बढी कुष्ठरोगी छन् । 

लक्षण 

कुष्ठरोग विशेषज्ञ डा. महेश शाहका अनुसार कुष्ठरोग हुँदा शरीरको कुनै भागमा छुँदा थाहा नहुने, फुस्रो वा हल्का रातो दाग देखा पर्ने लक्षण देखा पर्छन् । अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुनु, आँखीभौँ झरेर जानु, हात खुट्टा लगातार झम झम गर्नु, दुख्नु पनि कुष्ठरोगका लक्षण हुन् । उहाँका अनुसार हरेक मानिसको शरीरमा कुनै पनि सरुवा रोगको विरुद्ध  लड्ने शक्ति हुन्छ ।  

कसरी सर्छ ?

अध्ययन अनुसन्धानबाट संसारका ९९ प्रतिशत मान्छेमा कुष्ठरोगसँग लड्ने शक्ति बलियो हुन्छ । अर्थात् एक सय जना मानिसको शरीरमा कुष्ठरोगका कीटाणु प्रवेश गरेमा एक जनालाई मात्र यो रोग लाग्न सक्छ । यो रोग हातखुट्टामा भएको घाउको पिपबाट, रोगीको दिशापिसाबबाट र रोगीले प्रयोग गरेको भाँडाकुँडा वा कपडाको पुनः प्रयोग गर्दा सर्दैन ।    

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।