• १३ साउन २०८१, आइतबार

खोलाले बगाएकी बालिकाको उपचार गर्न सहयोग जुट्यो

blog

बालिकाको उपचारका लागि सङ्कलन भएको रकम हस्तान्तरण गरिदैँ ।

अमरराज नहर्की 

तनहुँ, असार ३० गते । विद्यालयमा पढेर घर फर्किने क्रममा खोलाले बगाएर घाइते भएकी तनहुँकी एक बालिकाको उपचारका लागि झण्डै साढे तीन लाख सङ्कलन भएको छ । 

व्यास नगरपालिकाका वडा नं ११ स्थित सेरास्थित वसन्त आधारभूत विद्यालयको कक्षा नर्सरीमा पढ्ने ५ वर्षिय युबिना थापाको उपचारका लागि सहयोग जुटेको हो । 

गएको असार २ गते तनहँुका बुल्दी खोलाले बगाउदाँ युबिना घाइते हुनुभयो   । बालिकाको उपचारका लागि  तीन लाख ४७ हजार २ सय ३३ रुपियाँ सङ्कलन भएको छ । पोखरास्थित फिस्टेल हस्पिटलमा उपचार गर्ने क्रममा आर्थिक अभाव भएपछि विद्यालयकी पूर्व प्रध्यानाध्यापक शर्मिला पौडेल ओझाले सहयोग सङ्कलन अभियान सञ्चालन गर्नु भएको थियो । 

सोही अभियानको क्रममा संकलन भएको तीन लाख ४७ हजार २३३ रुपियाँ विहिबार घाइते बालिकाको परिवारलाई हस्तान्तरण गरिएको छ । बालिकाका बुबा अर्जुन थापा मगरलाई सो रकम शिक्षक ओझाले हस्तान्तरण गर्नुभयो  ।

 बालिकाको स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको छ । सामाजिक सञ्जालमार्फत शिक्षक ओझाले चलाएको अभियानमा व्यास नगरपालिका, वडा कार्यालयलगायत विभिन्न सङ्घ सस्थाले सहयोग गरेका थिए । 

बालिकाको उपचारको क्रममा एक लाख ७५ हजार रुपियाँ खर्च भएको पारिवारले जानकारी दिएको छ । बाँकी रहेको रकम विद्यालय प्रशासन, बालिकाको अभिभावक र टोल विकास समितिका अध्यक्षको रोहवरमा बालिकाको नाममा खाता सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम आले मगरले जानकारी दिनुभयो ।