• २० फागुन २०८२, बुधबार

टमाटरबाट मनग्य आम्दानी

blog

बुढीनन्दा नगरपालिका –३ सिराडीका रणबहादुर बोहराले उत्पादन गरेको टमाटर । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, माघ ८ गते ।
बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाका ३ सिराडीका रणबहादुर बोहराले टमाटर खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

रोजगारी गर्नका लागि लामो समयदेखि भारतमा बस्दै आएका बोहराले २०७६ सालमा दानसाँगु नजिक एक हेक्टर जमिन भाडामा लिएर टमाटर खेती सुरु गर्दै आएपछि अहिले उहाँले वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्नुभएको हो ।

गाउँका सबै भारतमा गएर पैसा कमाई गर्न थालेपछि आफु पनि केही समय पहिला भारतमा गएको भए पनि आफुले त्यहाँ काम गरेअनुसारको काम नपाएपछि फरि यतै आएर अर्कोको जमिन भाडामा लिएर टमाटर खेती गर्न थालेको बुढीनन्दा नगरपालिका–३ , सिराडीका कृषक रणबहादुर बोहराले बताउनुभयो ।  

उहाँले भन्नभुयो , “अहिले मैले एक हेक्टर जति जमिन भाडामा लिएको छु । मैले त्यहाँ टमाटर आफु र गोपी ज्याज लगायतको तरकारी खेती गरेको छु । तरकारी खेती पनि धेरै राम्रो उत्पादन हुन्छ ।”

अहिले मैले यो तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी रकम आम्दानी गरेको उहाँले बताउनुभयो । ‘‘योभन्दा पहिला घर परिवार धान्न सकस हुने गरेको थियो । अहिले भने मेरो परिवार सुख शान्तिका साथ रमाइरहेका छन् ।’’ उहाँले भन्नुभयो ।  मेरो छोरा छोरीलाई समेत अहिले उच्च शिक्षाका लागि सहरमा पढ्ने गरेको बोहराले बताउनुभयो ।

भण्डारणको समस्या
बाजुरामा लामो समयदेखि कोल्ड स्टोरको समस्या छ । कोल्ड स्टोर नहुँदा यहाँका किसानले उत्पादन गरेका तरकारी फलफुल बस्तु लामो समयसम्म स्टोर गर्न समस्या भएको छ ।

यहाँ पछिल्लो समय धेरै जनाले तरकारी खेती गर्दै अउनुभएको छ । उहाँले उत्पादन गरेको तरकारी स्टोर गर्ने हो भने उनीहरुलाई तरकाी खेतीबाट नै जिविकोपार्जन गर्न निकै सहज हुन्थ्यो ।

बारीमा उत्पादन भएको तरकारी सुरक्षितसँग भण्डारण गर्ने व्यवस्था नहुँदा म जस्तै यहाँका धेरै किसान मारमा परेको बुढीनन्दा ३ किसान रणबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नभुयो, “पाकेको बेलामा तरकारी राख्ने ठाउँ नहुँदा व्यापारीको मूल्यमा सामान छाड्नुपर्ने बाध्यता भएको छ ।” हामीलाई आज मूल्य नभए राखेर भोलि बेच्छु, भन्ने अवस्था छैन, बिग्री हाल्छ । हाम्रो यो अवस्था देखेर सम्बन्धित निकायाले ठाउँ–ठाउँमा कोल्ड स्टोरको व्यवस्था गरिदिने हो तरकारी खेती किसानलाई निकै सहज हुने बोहराले बताउनुभयो ।