प्युठान समाचारदाता
प्युठान, माघ ८ गते । प्युठानमा २०७० सालको संविधान सभा निर्वाचनपछि जिल्लाका सबै राजनीतिक दल एक्लाएक्लै निर्वाचन लड्न थालेका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा दलहरू एक्लै प्रतिस्पर्धामा उत्रिएका हुन् । २०७० सालको संविधान सभा निर्वाचनमा सबै राजनीतिक दल एक्लै चुनाव लडेका थिए । उक्त निर्वाचनमा नेकपा (एमाले) बाट वामदेव गौतम र हिराबहादुर केसी विजयी हुनुभएको थियो ।
त्यसयता प्युठानमा भएको दुई वटा निर्वाचनमा गठबन्धन भएका थिए । २०७४ सालको निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबिच गठबन्धन भएको थियो । राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले नेपाली कांग्रेसका गोविन्दराज पोख्रेललाई हराउँदै प्रतिनिधि सभामा पुग्नुभएको थियो । प्रदेश सभामा एमालेका हरिप्रसाद रिजाल र माओवादीका कृष्णध्वज खड्का विजयी हुनुभएको थियो । यसअघिको २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) लगायतका पाँचदलीय गठबन्धन भएको थियो । त्यतिबेला नेकपा (एमाले) एक्लै चुनाव लडेको थियो । गठबन्धनलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा एमालेका सूर्य थापा विजयी हुनुभएको थियो ।
यस पटक प्युठानमा १४ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यस पटक दलहरू एक्लाएक्लै चुनाव लड्ने भएपछि उम्मेदवार र कार्यकर्ता दुवै खुसी देखिन्छन् ।