• ८ माघ २०८२, बिहिबार

स्वास्थ्य क्षेत्रको बेथिति अन्त्य गर्न निर्देशन

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशभित्र स्वास्थ्य क्षेत्रमा असाध्य बेथिति रहेको बताउनुभएको छ । बुधबार सर्लाहीको लालबन्दीमा अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेसनलले सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई आधुनिक उपकरण हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको बेथिति अन्त्यका लागि काम गरिरहेको बताउनुभयो । मुख्यमन्त्री यादवले प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई स्वस्थ्य क्षेत्रको बेथिति अन्त्य गर्न उहाँलाई निर्देशन पनि दिनुभयो । 

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनलले लालबन्दी नगरपालिका–५, जरुवापानीमा सञ्चालित आँखा उपचार केन्द्रको स्तरोन्नतिका लागि दुई करोड २० लाख २१ हजार ८६० रुपियाँ बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । सहयोग गरिएका उपकरणमा आँखाको अपरेसन गर्न मिल्ने फेको सर्जरी मेसिनसहित माइक्रोस्कोप, ल्याम्पलगायत रहेका छन् । 

मुख्यमन्त्री यादवले लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनबाट प्राप्त उपकरणले लालबन्दीका साथै नजिकका अन्य जिल्ला र भारतीय नागरिकलाई समेत लाभ मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

यस्तै प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायले आँखा उपचार केन्द्रका लागि लायन्स क्लबले प्रदान गरेको उपकरण सञ्चालन गर्न सक्ने क्षमता भएका प्राविधिक प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

स्वास्थ्यमन्त्री रायले लालबन्दीमा ट्रमा सेन्टर स्थापनाका लागि पनि आवश्यक बजेट विनियोजन गर्ने घोषणा गर्नुभएको छ । मधेश प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बेची लुङ्गेलीले लायन्स क्लबबाट प्राप्त उपकरणको सही सदुपयोग गरी यस क्षेत्रका आँखारोगीलाई नियमित सेवा पाउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । 

सामुदायिक परोपकार आँखा उपचार केन्द्रमा अहिलेसम्म आँखाको परीक्षण र चस्मा वितरण मात्रै हुँदै आएकोमा अब भने अत्याधुनिक मेसिन (फेको प्रविधि) मार्फत शल्यक्रियासमेत गर्न मिल्ने गरी उपकरण उपलब्ध गराएको हो । लायन्स क्लब इन्टरनेसनलका पूर्वकाउन्सिल चेयरपर्सन भरतप्रसाद ढुङ्गेलले लालबन्दीमै आँखाको उपचार र शल्यक्रियाको व्यवस्था गर्न लागिपरिरहेको बताउनुभयो । 

अत्याधुनिक मेसिन प्राप्त भएसँगै दक्ष चिकित्सक र प्राविधिक राखेर सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली तथा भारत बिहारका करिब १० लाख मानिसलाई आँखा उपचार सेवा प्रदान गर्ने लक्ष्य रहेको लायन्स क्लब लालबन्दीका पूर्वअध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिनुभयो । 

नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले निर्माण गरेको सुविधायुक्त तीनतले भवनको दोस्रो तलामा लायन्स क्लबले उपलब्ध गराएका अत्याधुनिक उपकरण जडान गरिएका छन् । जतिसक्दो चाँडो चिकित्सक र प्राविधिकको व्यवस्थापन गरी आँखाका बिरामीको फेको मेसिनबाट शल्यक्रियासहितको उपचार सुरु गर्ने योजना रहेको लालबन्दी रेडक्रसका सभापति ध्रुवप्रसाद घिमिरेले बताउनुभयो । 

कार्यक्रममा मुख्यमन्त्री यादवले स्तरोन्नति गरिएको आँखा अस्पतालको समेत बुधबार नै औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ ।