नवराज कट्टेल
विराटनगर, माघ ८ गते । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र पहिचानका लागि समावेशी समाजवादी पार्टीले देशभरका छ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । यो समुदायको संसद्मा आधिकारिक प्रतिनिधित्वका रूपमा सुनीलबाबु पन्त संविधान सभा सदस्य बन्नुभएको थियो । त्यसपछि प्रतिनिधित्व सुनिश्चित नभएको भन्दै पार्टी नै दर्ता गरेर उम्मेदवारी दिइएको हो ।
पार्टी अध्यक्ष तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी नुमा लिम्बूका अनुसार काभ्रेपलाञ्चोक क्षेत्र नं. १ मा विनोद लामा, ओखलढुङ्गा क्षेत्र नं. १ पिङ्की राई, रुपन्देही क्षेत्र नं. २ मा देवेन्द्रबहादुर खत्री, काठमाडौँ क्षेत्र नं. १० पूर्णचन्द्र पौडेल, काठमाडौँ क्षेत्र नं. १ मा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिनुभएको हो ।
समावेशी समाजवादी पार्टीको चुनाव चिह्न श्रीवत्स रहेको संविधान सभा सदस्य सुनीलबाबु पन्तले जानकारी दिनुभयो । यो पार्टीले बुधबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय जीवनको सङ्घर्ष, समाजको बहिष्करण र पहिचान अभावमा अहिले पनि लडिरहेकाले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलले समेत सहयोग गर्नुपर्ने माग गरेको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष लिम्बूले भन्नुभयो, “देखेको, भोगेको र सिकेको अनुभवले अझै बलियो बनाइरहेको छ । त्यही भएर छुट्टै पार्टी गठन गरेर मतदातामार्फत हाम्रो मत केन्द्रित गर्न गइरहेका छौँ ।” प्रमुख राजनीतिक दलले आफ्नो समुदायलाई बेवास्ता गर्न नमिल्ने जिकिर पनि उहाँले गर्नुभयो ।
तेस्रो लिङ्गी महिला लिम्बूले आफ्नो पार्टीले निर्वाचन आयोगले तोकेको आचारसंहिताविपरीत कुनै पनि कार्य नगर्ने बताउँदै लोकतन्त्रमा अधिकार प्रयोग गर्न उम्मेदवारी दिएको बताउनुभयो ।
राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार देशभर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्ख्या तीन हजार हाराहारी मात्रै रहेको देखाइएको पन्तले जानकारी दिनुभयो । देशभरमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सङ्ख्या गणना गर्दा छुट्न गएको उहाँको भनाइ छ । पन्तले आफ्नो समुदायले मातृसत्ताको कल्पना गर्ने भएकाले झन्डा त्रिकोणात्मक रहेको बताउनुभयो । उहाँले संविधान सभा सदस्यका रूपमा आफूले प्रतिनिधित्व गर्दा मात्रै पनि यो समुदायको अधिकार सुनिश्चित गर्न सकिएकाले अब संसद्मा प्रतिनिधित्वमार्फत कानुनमा सुधार पहल लिने बताउनुभयो ।