बुलबुले समाचारदाता
सुर्खेत, माघ ८ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर प्रवेशद्वारका रूपमा रहेको भेरी पुल दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ । पुल बनेको ४५ वर्ष पुग्यो । यसको आयु ५० देखि ६५ वर्षको हो । गुणस्तर तथा गाडी गुड्ने क्षमतालगायतका हिसाबले पुलको आयु घटिरहेको छ तर पुलको पुनर्निर्माण हुन सकेको छैन ।
रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिका सिमानामा रहेको भेरी नदीमाथि बनेको पुल प्रदेश राजधानीको प्रवेशद्वार हो । पुल जीर्ण भइरहँदा बनाउने योजना भने बन्न सकेको छैन । सरकारले यस विषयमा ठोस योजना निर्माण गर्न सकेको छैन । प्रत्येक वर्ष पुलको मर्मतका लागि बजेट भने विनियोजन हुने गरेको छ । अबको दुई–चार वर्षमा नयाँ पुल निर्माण नभए जोखिम थप बढ्ने जनाइएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले प्रत्येक वर्ष पुल मर्मतका काम गर्ने गरेको जनाएको छ तर आउने जोखिमलाई ध्यानमा राखेर पुल निर्माणको योजना बन्न सकेको छैन ।
भेरी पुल निर्माण गर्ने विषयमा चर्चा भने भइरहेको छ । सडक विभागमा समेत पुल निर्माणको विषय उठाइएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । घटना घटिसकेपछि भन्दा घटना घट्नै नदिन यस विषयमा सडक विभागमा छलफल गरिएको कार्यालयका इन्जिनियर रूपेश केसीले बताउनुभयो । उहाँका अनुसार अबको तीन–चार वर्षमा पुल निर्माण नभए जोखिम हुन सक्छ । अहिले सामान्य मर्मतबाहेक अन्य काम नभएको उहाँले जानकारी दिनुभएको छ ।
सङ्घीय सरकारले पुल निर्माणका लागि प्रत्येक वर्ष थोरै बजेट मात्र विनियोजन गर्ने गरेको छ । सडक डिभिजन कार्यालय सुर्खेतले करिब ३० वटा पुलको मर्मतसम्भारको काम गर्दै आइरहेको छ । एउटा पुललाई कम्तीमा दुई/तीन लाखसम्म भाग पर्ने गरेर बजेट कार्यान्वयन गर्ने गरिएको इन्जिनियर केसीले बताउनुभयो । पुल मर्मतका लागिसमेत सरकारले पर्याप्त बजेट विनियोजन गरेको छैन । सरोकारवालाले समेत जीर्ण बन्दै गइरहेको पुलको विषयमा चिन्ता व्यक्त गर्न थालेका छन् । वीरेन्द्रनगरका स्थानीय कुलदेव भट्टराईले सरकारले भेरी नदीमा भरपर्दो नयाँ पुल निर्माण गर्नुपर्ने बताउनुभयो । अहिले रहेको पुललाई वैकल्पिक रूपमा प्रयोग गर्दै नयाँ स्थान छनोट गरेर अर्को पुल निर्माणको काम थाल्नुपर्ने उहाँको सुझाव छ ।