कालीकोट समाचारदाता
कालीकोट, माघ ८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कालीकोटमा जनयुद्धका सहयात्री प्रतिस्पर्धामा उत्रिएका छन् । १० बर्से सशस्त्र द्वन्द्वमा सैन्य कमान्ड समालेका महेन्द्रबहादुर शाही र जीवन बुढा चुनावी मैदानमा देखिएका छन् । नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई टिकट दिएपछि बुढाले बागी उम्मेदवारी दिनुभएको हो ।
शाही तत्कालीन माओवादी सेनाका सातौँ डिभिजन कमान्डर हुनुहुन्थ्यो भने बागी उम्मेदवारी दिनुभएका बुढा सहकमान्डर हुनुहुन्थ्यो । जिल्लाका बहुमत नेता कार्यकर्ताको साथ पाएका बुढाले यसअघिका तीन वटा निर्वाचनमा आफ्नो कमान्डर शाहीका लागि मैदान छोडे पनि उहाँले यस पटक भने चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “हिजो तत्कालीन सत्ताविरुद्ध एकसाथ लडेका थियौँ, हरेक मोर्चाको कमान्ड दुवै जनाले एकसाथ गरेको हो । २०७० देखि २०७९ सम्म तीन पटक संसद् भवन र कर्णालीको मुख्यमन्त्रीसम्म शाहीलाई पु¥याउन मैले नै साथ दिएको हुँ, तर यस पटक अरू साथीलाई पालो दिउँभन्दा उहाँले मान्नुभएन । त्यसैले आफूले पनि उम्मेदवारी दर्ता गराएको हुँ ।”
कालीकोटमा तत्कालीन माओवादीको पकड भए पनि शाही २०७४ मा नेकपा (एमाले) र २०७९ मा नेपाली कांग्रेसको साथ पाएर विजयी हुनुभएको थियो । यसअघिको निर्वाचनमा प्राप्त समानुपातिक मतको विश्लेषण गर्दा नेकपाको १२ हजार, एमालेको १० हजार र नेपाली कांग्रेसलाई नौ हजार मत प्राप्त भएको थियो । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा एमालेका नगिन्द्र शाही नेसनल, कांग्रेसका हर्षबहादुर बम, नेकपा (माओवादी) का खड्कबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट धर्मराज न्यौपाने, राष्ट्रिय जनमोर्चाबाट अजबहादुर गिरी, नेमकिपाका नन्दबहादुर शाही, राप्रपाका सूर्यबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने दुई जना स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गराएका छन् ।