• ८ माघ २०८२, बिहिबार

निर्वाचन खर्चलाई मितव्ययी बनाउनुपर्ने

blog

अन्तर्क्रिया कार्यक्रममा सहभागी ।

बेनी समाचारदाता 

बेनी, माघ ८ गते । निर्वाचनमा हुने भड्किलो खर्चलाई मितव्ययी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न म्याग्दीका राजनीतिक दलले जोड दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका जिल्लाका राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आर्थिक रूपमा बढी खर्चिलो र भड्किलो हुँदै गएकाप्रति चिन्ता व्यक्त गर्दै खर्चलाई मितव्ययी बनाउन र आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा बुधबार बेनीमा आयोजना गरिएको निर्वाचन आचारसंहिता : व्यवस्था, अनुगमन र नियन्त्रण सम्बन्धमा जिल्लास्थित राजनीतिक दल, उम्मेदवार र सम्बद्ध पक्षसँग गरिएको अन्तर्क्रिया कार्यक्रममा दलहरूले निर्वाचन गराउने निकाय तटस्थ र निष्पक्ष हुनुपर्ने जोड दिएका हुन् । राजनीतिक दलका प्रतिनिधिले निर्वाचनलाई शान्त, भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न नियामक निकायले तटस्थ भएर भूमिका निर्वाह गर्नुपर्ने राजनीतिक दलका प्रतिनिधिहरूको भनाइ थियो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रेशमबहादुर बानियाँले निर्वाचन आचारसंहिताको कार्यान्वयन गर्नका लागि नियामक निकाय सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नियामक निकायले तटस्थ रूपमा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।” निर्वाचनलाई कम खर्चिलो बनाउन उम्मेदवार र दलहरूले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले मन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका महावीर पुनले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै प्रचारमा गएको आरोप लगाउनुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का गण्डकी प्रदेश कमिटी अध्यक्ष एवं संविधान सभा सदस्य नवराज शर्माले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकाय र राजनीतिक दलहरूबिच निरन्तर रूपमा समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बलिया राजनीतिक दलहरूले आचारसंहिता पूर्ण रूपमा पालना गरेमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने बताउनुभयो । 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा भयरहित वातावरणमा मितव्ययी तवरले सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवारलगायत सम्पूर्ण सरोकारवाला पक्षहरूको महत्वपूर्ण सहयोग हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आचारसंहिता आत्म अनुशासन हो । स्वबन्धन पनि हो । नियन्त्रण र कारबाहीबाट पालना गराउनुभन्दा स्वयम् सचेत र अनुशासित हुनुपर्ने हुन्छ । सबै राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्नु र गराउनुहुने छ भन्नेमा विश्वास छ ।” उहाँले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेमा कानुन अनुसार कारबाहीसमेत हुने बताउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायबाट तटस्थ भएर भूमिका निर्वाह हुने विश्वास दिलाउनुभयो । उहाँले सम्बन्ध सबै पक्षसँग निरन्तर रूपमा समन्वय र सहकार्य गरेर निर्वाचनलाई सम्पन्न गरिने बताउनुभयो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले निर्वाचन आचारसंहिता, व्यवस्था, अनुगमन र नियन्त्रणका सम्बन्धमा भएका व्यवस्थाका बारेमा प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।