• ८ माघ २०८२, बिहिबार

दाङमा चार हजार प्रहरी परिचालन गरिने

blog

पत्रकार भेटघाटमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठ। तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, माघ ८ गते।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित सुरक्षाका लागि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरूसँगको भेटघाटका क्रममा कार्यालयका प्रमुख एसपी दीपक श्रेष्ठले निर्वाचन लक्षित जिल्ला एकीकृत सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा एक हजार तीन सयभन्दा बढी नेपाल प्रहरी खटाइएका छन् भने थप दुई हजार चार सय १५ जनासहित करिब चार हजार प्रहरी परिचालनको तयारी भइरहेको छ ।

उहाँले अहिले प्रहरी छनोटको काम भइरहेको बताउँदै छनोट पूरा भएपछि तत्काल तालिम दिएर फिल्डमा खटाइने बताउनुभयो । त्यसैगरी उहाँले उम्मेदवारहरूको सुरक्षा, निर्वाचनस्थल तथा मतदान केन्द्रहरूको सुरक्षाका लागि प्रहरी परिचालन भइसकेको छ र मतदान केन्द्रहरूको अनुगमन कार्य पनि सुरु बताउनुभयो ।

दाङमा निर्धारण गरिएका चार सय ८२ मतदान केन्द्रमध्ये चार सय ३० संवेदनशील र २७ अति संवेदनशील रहेका छन् भने २५ वटा मतदान केन्द्र सामान्य अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । यी सबै स्थानहरूमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । दाङमा एक सय ५९ मतदान स्थलमा गरी चार सय ८२ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।