प्रवीण कुमार शर्मा
रौतहट, माघ ८ गते । रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै आएको उजुरी दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ रौतहटका अनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवार रामनरेश राय यादवले पूर्व प्रधानमन्त्री नेपालको उम्मेदवारी खारेजको माग गर्दै उजुरी निबेदन लिएर आउनु भएको थियो । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते दिनको १० देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने व्यवस्था रहेको थियो ।
पूर्व प्रधानमन्त्री नेपाल बाहेक अन्य उम्मेदवारको विरोधमा निबेदन नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।
पूर्व प्रधानमन्त्री नेपालमाथि परेको उजुरीमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा खरिद–बिक्री प्रकरणमा सरकारी तथा सार्वजनिक सम्पत्तिमा हानि पु¥याई भ्रष्टाचार गरेको आरोप रहेको उल्लेख गरिएको छ । सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिसकेको र हाल मुद्दा विचाराधीन अवस्थामा रहेकोले पूर्व प्रधानमन्त्री नेपालको उम्मेदवारी खारेजको माग उजुरीकर्ताको रहेको थियो ।
यस बाहेक रौतहटको अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको विरोधमा उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दाशले जानकारी दिनुभयो । रौतहटका ४ वटै निर्वाचन क्षेत्र गरेर १४३ जना उम्मेदवार रहेको छ ।