रामकृष्ण बोहरा
बागलुङ, माघ ८ गते । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले पढ्ने, पढाउने, सिक्ने र सिकाउने पद्धती तथा शैली बदल्न सकेमा शैक्षिक गुणस्तर सुधार हुने जीवन उपयोगी शिक्षा दिन सकिने र समय सुहाउँदो जनशक्ति उत्पादन गर्न सकिने बताउनुभएको छ ।
धौलागिरीको एकमात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसको ६३ औं वर्षगाँठको अवसरमा बुधबार आयोजित ‘नेपालमा उच्च शिक्षा वर्तमान अवस्था, संभावना र चुनौती’ विषयक बहस कार्यक्रममा बोल्दै कोइरालाले प्रविधिमैत्री शिक्षाका लागि हरेक विद्यार्थीलाई अनुसन्धानमा जोड्ने, पाठ्यक्रमको सिमिततामा नराखी उक्त पाठ्यक्रमलाई नै बुझ्न र व्याख्या गर्न सक्ने बनाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कोइरालाले विद्यार्थी, प्राध्यापक र अन्य सरोकारवालाको जिज्ञाशा समेत समेटेर कसरी रोजगार सिर्जना गर्ने ? हाम्रा परम्परागत उत्पादनलाई आधुनिक बजारमा कसरी जोड्ने जस्ता विषय प्रष्ट्याउनुभएको थियो । नीति बाधक नभइ काम गर्ने शैली परिवर्तन गर्न पनि शिक्षाविद् कोइरालाको सुझाव थियो ।
योजना र बजेटलाई उपयोग गर्न नसकेपनि उपलब्धी नहुने भन्दै उहाँले अब हरेक काममा नवप्रवद्र्धनात्मक बन्नुपर्ने बताउनुभयो । जापानमा बस्ने शिक्षक र विद्यार्थीले जस्तै नेपालमा पनि आफ्नो जिम्मेवारी र कर्तव्य पालना गर्दा समाज विकास हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाले ‘नेपालमा उच्च शिक्षाको वर्तमान अवस्था सम्भावना र चुनौती’ विषयक प्रस्तुतीकरण गर्नुभएको थियो भने उपप्राध्यापक विप्लब शर्माले प्रा.डा कोइरालासँग प्यानल छलफल गर्नुभएको थियो ।
कार्यक्रममा उपप्राध्यापक हिरालाल रेग्मीले कार्यक्रमको टिप्पणी गर्नुभएको थियो । कार्यक्रम स्ववियु सदस्य विरोष क्षेत्रीको अध्यक्षता र कोषाध्यक्ष विशाल थापाको सञ्चालनमा सम्पन्न भएको थियो । क्याम्पसले वर्षगाँठलाई खेलकुद र शैक्षिक बहससहित विभिन्न क्रियाकलाप जोडेर साप्ताहिक बनाएको छ । श्रीपञ्चमीको दिन क्याम्पसमा मुल समारोह हुने छ ।