• ७ माघ २०८२, बुधबार

बागलुङ–कालिका गुठीमा खड्का

blog

बागलुङ कालिका गुठी व्यवस्थापन समितिका नयाँ पदाधिकारी । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, माघ ७ गते । बागलुङ कालीका गुठी व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका भूपेन्द्र खड्काले बुधबार पदभार ग्रहण गर्नुभएको छ । गत भदौंमा नियुक्त भए पनि प्राविधिक कारणले उहाँ अध्यक्षको पदभार ग्रहण गर्नुभएको थिएन ।  

गुठी संस्थानमा नेतृत्व अभावमा नियुक्त भएर पनि कामको जिम्मेवारी लिन ढिला भएकोमा गत माघ २ गते जिम्मेवारी आएपछि पदभार ग्रहण गरेको खड्काले बताउनुभयो । हरेक ४ वर्षमा गुठीको अध्यक्षसहित समितिको हेरफेर हुन्छ । 

प्रसिद्ध बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको नयाँ समिति चयन भइसकेपछि गत भदौमा बागलुङ नगरपालिका–१ ले संस्थानमा पत्र पठाएको थियो । संस्थानको स्विकृतिपछि अध्यक्षसहित पदाधिकारी बन्ने प्रावधान छ । वडाध्यक्ष जयबहादुर खत्रीले गुठी संस्थानलाई गरेको सिफारिस पत्रअनुसार समिति गठन भई सिफारिस भएअनुसारका पदाधिकारीले बुधबार कालिका मन्दिर प्रवेश गरी पूजा गर्नुभएको थियो । 

पदभार ग्रहणपछि खड्काले मन्दिर व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने, सटरमा बेचिने सामाग्रीको अनिवार्य मूल्य सूची राख्ने र आम उपभोक्तालाई सहज व्यवस्थापन गराउने प्रतिवद्दता जनाउनुभयो । समितिको सचिवमा सचिन खड्का, कोषाध्यक्षमा अर्जुन खड्का, सदस्यहरुमा धु्रव खड्का, मनोज खड्का, भूपेन्द्र खड्का र शिव खड्का चयन हुनुभएको छ ।