न्यूयोर्क, माघ ७ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)को जेरुसेलमको शेख जराहस्थित भवन इजरायली अधिकारीले कब्जा गरी ध्वस्त पारेकोमा निन्दा गर्नुभएको छ ।
विज्ञप्ति जारी गर्दै महासचिव गुटेरेसले इजरायल सरकारलाई युएनआरडब्लुएको विध्वंस तुरुन्तै रोक्न र ढिलाइ नगरी संयुक्त राष्ट्र सङ्घमा फिर्ता गर्न र पुनस्र्थापना गर्न आग्रह गर्नुभएको छ । गुटेरेसले शेख जराह कम्पाउन्ड संयुक्त राष्ट्रको सम्पत्ति भएको उल्लेख गर्दै कुनै पनि प्रकारको हस्तक्षेपबाट सुरक्षित हुनुपर्ने जनाउदै जनवरी–८ मा इजरायली प्रधानमन्त्रीलाई लेखेको पत्रमा यस्तो बताएको जनाइएको छ ।
गुटेरेसले युएनआरडब्लुए विरुद्धकार्यको पूर्ण रूपमा अस्वीकार गर्दै यस्तो कार्य संयुक्त राष्ट्र सङ्घको बडापत्र, संयुक्त राष्ट्रको विशेषाधिकार र उन्मुक्ति सम्बन्धी महासन्धि र अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताउनुभएको छ । इजरायली कब्जा बलले मङ्गलबार जेरुसेलममा रहेको युएनआरडब्लुएको मुख्यालयमा छापा मारेको थियो र यसका केही भाग ध्वस्त पारेको थियो । रासस/क्युएनए