• ७ माघ २०८२, बुधबार

संरक्षण अभावले सङ्कटमा ऐतिहासिक पानी पोखरी

blog

जनकपुरधाम–८ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदभन्दा पश्चिममा अवस्थित कपालमोचनी सर पोखरी । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, माघ ७ गते । प्राचीन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानीलाई पोखरी नै पोखरीको सहरले चिन्ने गरिन्छ । यहाँका दर्जनौँ पोखरी अहिले सङ्कटमा छन् । पाँचभन्दा बढी पोखरी लुप्त भइसकेका छन् ।

जनकपुरधाम उपमहागनरपालिका–३, धनुषाका स्थानीय सुदर्शनलाल कर्ण अहिले ७५ वर्षको हुनुभयो । उहाँ २० वर्षको हुँदा घरनजिकैको देवान पोखरीमा नुहाउने गरेको राम्रोसँग स्मरण छ । त्यही पानी भान्साको काम प्रयोग हुन्थ्यो । 

उहाँ भन्नु हुन्छ, “मेरो हजुर बुवा हरिशचन्द्रलालले पोखरी खन्न लगाउनुभएको थियो । पछि सर्वोच्च अदालतले चन्द्रकुप (देवान) पोखरीको डिल मास्न नपाइने र सार्वजनिक हितका लागि प्रयोग गर्न मिल्ने निर्णय गरेपछि यो सबैको साझा पोखरी भयो ।”

कर्ण र उहाँको परिवारको दैनिक जीवनको हिस्सा बनेको यो पोखरी अहिले हेर्न लायक छैन । वरपर फोहोरको थुप्रोले भरिएको छ । करिब वि.सं. २०३० देखि फोहोर हुँदै जान थालेको यो पोखरी अतिक्रमणका कारण कहिले पुरिने हो, थाहा छैन । समयमा संरक्षण भएन भने यो पोखरी छिटै लुप्त भएर जान्छकी उहाँलाई चिन्ता छ । 

जनकपुरधाम परिक्रमा क्षेत्रका अधिकांश ऐतिहासिक पोखरी संरक्षण अभाव, अवैध निर्माण, फोहोर व्यवस्थापन र पानीका मुहान सुक्दै जानुले तीव्र सङ्कटमा छ । देवान पोखरी मात्र होइन, धनुषसागर, गङ्गासागर, महाराज सागर, कपालमोचनी, अग्नीकुण्ड, रामसागरलगायत दर्जनौँ पोखरीको अवस्था दयनीय बन्दैछ । 

तीनै तहको सरकारले करोडौँ खर्च गरे पनि प्रभावकारी व्यवस्थापन हुन नसक्दा एक समय ५२ कुट्टी र ७२ कुण्डका रूपमा परिचित जनकपुरधामको पोखरी क्रमशः आकार घट्दै, हराउँदै गइरहेको छ ।

विभिन्न अध्ययन–प्रतिवेदनले जनकपुरमा कहिल्यै स्पष्ट अभिलेख नहुँदा पनि दशकौँ यता पोखरीको सङ्ख्या र क्षेत्रफल दुबै घटेको देखाएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को प्रतिवेदन अनुसार ४९ सार्वजनिक पोखरीमध्ये पाँच ओझेल परिसकेको छ । यी पोखरीमा जनक सरोवर, अमृतकुण्ड, गोपाल सर, पयस्विनी सर र बलदेव सर हुन् । बाँकी धेरै पोखरी अतिक्रमण र उपेक्षाका कारण साँघुरिँदै छन् ।

योक्रम रोकिएन भने गङ्गासागर, धनुषसागरदेखि वाल्मीकि सरसम्मका दर्जनौँ पोखरी इतिहासको पानामा सीमित हुने खतरा बढ्दो छ ।

संरक्षणमा उदासिनता

जनकपुरधाममा पोखरी संरक्षणको नाममा दशकौँदेखि घेराबार, कङ्क्रिटको डिल र टायल्स लगाइने कामले प्राकृतिक सौन्दर्यता र वातावरणीय सन्तुलनमा नकारात्मक असर परेको छ । बृहत्तर जनकपुर क्षेत्र विकास समितिबाट २०५२ सालमै सुरु भएको कङ्क्रिटीकरण अहिले पनि विभिन्न निकायमार्फत निरन्तर जारी छ । 

स्थानीयको गुनासो अनुसार यसले धार्मिक महत्त्व कम हुँदै गएको छ, पानीका मुहान सुक्दै गएका छन् । अत्यधिक गर्मी तथा वातावरणीय असन्तुलन बढेको छ । उपमहानगरपालिकाले अब कङ्क्रिटको डिल नबनाइ पोखरीको पिँध सफाइतर्फ ध्यान दिने जनाएको छ । धेरै पोखरी गुठीको स्वामित्वमा परेकाले ठोस योजना बनाउन कठिन भइरहेको छ । 

विगतमा सौन्दर्यीकरणको नाममा करोडौँ खर्च भए पनि वातावरणमैत्री संरक्षण सम्भव भएको छैन । वातावरणविद् सुरेश शर्माका अनुसार अत्यधिक कङ्क्रिट प्रयोगले भू–जल पुनर्भरण रोक्छ, वर्षाको पानी सोस्ने क्षमता घटाउँछ र पोखरीको प्राकृतिक जलस्तर बिगार्छ ।

सरकार र स्थानीय निकायको उदासीनताबिच केही युवाहरू र महिला २०७२ सालदेखि सरसफाइ, अतिक्रमण हटाउने र संरक्षण अभियानमा सक्रिय छन् । नागरिक समाजका अगुवा दिवाकर उप्रेती पोखरी जनकपुरको पहिचान भएकाले संरक्षणमा ढिलाइ भए, भविष्यमा धेरै पोखरी लोप हुने गम्भीर खतरा छ । उप्रेती भन्नुहुन्छ, “पोखरी हाम्रो पहिचान हो । हामी स्थानीय तहबाट संरक्षणका लागि दबाब दिइरहेका छौं । संरक्षण हुन नसके अस्तित्व मेटिन्छ ।” 

व्यवस्थापन चुनौती

जनकपुरधामका दर्जनौँ ऐतिहासिक पोखरी तीव्र अतिक्रमणका कारण गायब हुँदै गएका छन् । तेलहा, मडहा, चन्द्रकुप, रामसागर, मुरली सर, पुरन्दर सर, पाकवती सर, लक्ष्मण सर, कपालमोचनी र दिर्घीका सरलगायतका पोखरी चारैतिरबाट घेरिँदै ठुलो भाग पुरिएका छन् ।

अधिकांश सम्पदा क्षेत्रका जग्गा राज्यलाई थाहा नदिइ निजी रूपमा बिक्री भएको रहस्यमय घटनाले समस्या झन जटिल बनाएको छ । वकिल टोलस्थित ‘जनक सरोवर, अञ्चल अस्पताल दक्षिणको ‘अमृत कुण्ड’, मानकी होटल पश्चिमको ‘पयश्विनी सर’, कन्या विद्यालय पूर्वको ‘बलदेव सर’ र गोपाल धर्मशाला छेउको ‘गोपाल पोखरी’ अहिले बस्ती र निजी घरले पूर्णरूपमा ढाकिएका छन् ।

“पोखरीको सहर” भनेर चिनिने जनकपुरमा जलस्रोत मासिँदा पारिस्थितिकीय सन्तुलन, संस्कृति र दैनिक जीवनमै असर पर्न थालेको वातावरणविद् सुरेश शर्माको भनाइ छ । उहाँका अनुसार तत्काल अतिक्रमण रोक्ने र पोखरी संरक्षण गरिएन भने सहरमा पर्यावरणीय सङ्कट गहिरिँदै जाने छ ।


जनकपुरधाम उपमहानगरपालिका–३ स्थित चन्दकुप (दिवान पोखरी) पुरिएको अवस्थामा । 

सुख्खाग्रस्त क्षेत्र घोषणा 

यसवर्ष ढिलो वर्षाका कारण तराई–मधेशका किसानहरू सङ्कटमा परेका थिए । रोपाइँको समयमा खेत सुक्खा हुँदा बिउ–बिजन, मलखाद र मिहिनेतको लगानी जोखिममा परेको छ । 

पर्याप्त पानी नपर्दा कल, पोखरी र इनार सुक्दै गएपछि कतिपय ठाउँमा ट्याङ्करमार्फत पानी वितरण गरिएको थियो । आठै जिल्लामा स्यालो ट्युबेलका लागि प्रदेश सरकारले निवेदन मागेको छ ।

मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपछि महोत्तरीको मटिहानीमा आयोजित कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५०० डिप बोरिङ जडान आवश्यक रहेको घोषणा गर्नुभएको थियो । 

जलवायु तथा वातावरणविज्ञ डा. ङमिन्द्र दाहालका अनुसार, डिप बोरिङले भूमिगत पानी झन् घटाउने भएकाले दीर्घकालीन समाधान बन्न सक्दैन । डा. दाहाल भन्नुहुन्छ, “मिथिला सभ्यताको आधार पोखरी–तलाउको विज्ञान हो । भूमिगत पानी दोहनअघि पोखरी र प्राकृतिक जलस्रोत संरक्षण अनिवार्य छ ।”

उहाँका अनुसार कुलो प्रणालीको उपेक्षा, पम्पमा निर्भरता र अव्यवस्थित सिँचाइ नीतिले भूमिगत जलस्तर तल झर्दै गएको छ । अत्यधिक दोहन नियन्त्रण नगरे सुक्खा, विस्थापन र खेती सङ्कट नेपालमा पनि दोहोरिन सक्ने चेतावनी उहाँको छ ।

उहाँले चुरे–भावर क्षेत्रमा वर्षाको पानी थाम्ने संरचना निर्माण गरी भूमिगत पुनर्भरण बढाए तराईको पोखरी कहिल्यै नसुक्ने सुझाव समेत दिनुभयो । “हामीसँग बजेट, प्रविधि र क्षमता सबै छ, अहिले आवश्यक छ त दीर्घकालीन सोच र प्रकृतिप्रति प्रतिबद्धताको” दाहालले भन्नुभयो ।

उहाँका अनुसार पोखरी, इनार र कुवा केवल संरचना होइन, मानिस, जीवजन्तु र सम्पूर्ण सभ्यताको साझा प्राकृतिक स्रोत भएकाले सार्वजनिक पानीमा कसैको एक्लो निर्णय मान्य हुँदैन । 

यसका लागि पालिका, प्रदेश, सङ्घ र सबै निकाय एकमत भएर काम गर्न आवश्यक छ । उहाँले भन्नु भयो, “हामीसँग विज्ञान, प्रविधि, बजेट र संरचना बनाउने क्षमता सबै छ, अहिले चाहिएको केवल सही उपयोग र प्रकृतिप्रति प्रतिबद्धता मात्र हो ।”

यो स्टोरी इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो ।