• ६ माघ २०८२, मङ्गलबार

सचिव बस्नेतद्वारा भक्तपुर २ मा उम्मेदवारी दर्ता

blog

नेकपा (एमाले) का सचिव महेश बस्नेत । फाइल तस्बिर

गोरखापत्र अनलाइन

भक्तपुर, माघ ६ गते। नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुर २ मा मनोनयन दर्ता गराउनु भएको छ । उहाँले सो अवसरमा विकास, सुशासन र राष्ट्रिय हितको पक्षमा उभिन मतदातासँग आग्रह गर्नु भयो । 

महेश बस्नेतले निर्वाचन विकास र समृद्धिसँगै अराजक प्रवृत्तिविरुद्धको स्पष्ट राजनीतिक छनोट भएको उल्लेख गर्नु भयो । उहाँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघि सार्नु भएको  ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानले देश विकासको स्पष्ट मार्गचित्र दिएको बताउँदै भक्तपुरमा त्यसलाई अझ व्यापक रूपमा कार्यान्वयन गरिँदै आएको दाबी गर्नु भयो । 

‘यस पटकको निर्वाचनको प्रमुख मुद्दा सिंहदरबार, सर्वोच्च अदालत, संसद् र देश नै जलाउने अराजक प्रवृत्तिविरुद्ध उभिनु हो’ उहाँले उल्लेख गर्नु भएको छ। उहाँका अनुसार देशको पुनर्निर्माण, राष्ट्रिय हितको संरक्षण र राजनीतिक स्थिरताका लागि आज पनि एमाले र अध्यक्ष ओलीको नेतृत्व अपरिहार्य छ।

बस्नेतले अराजकता र आपराधिक तत्त्वहरू राजनीतिमा हाबी हुँदै पपुलिस्ट प्रवृत्ति मौलाइरहेको वर्तमान अवस्थामा लोकतन्त्र, विधिको शासन र संविधानको रक्षा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता भएको धारणा राख्नु भयो । 

उहाँले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू महेश बस्नेतसहित नेकपा (एमाले) लाई मतदान गरी बहुमत दिलाउन भक्तपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध गर्नु भएको छ। उहाँले राष्ट्रवादी र विकासवादी नेता केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउन मतदाताको समर्थन आवश्यक रहेको बताउनु भयो ।