• १३ वैशाख २०८१, बिहिबार

स्कटल्यान्डविरुद्ध नेपाल पाँच विकेटले विजयी

blog

फाइनल तस्बिर ।

काठमाडौं, असार २९ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सानदार जित निकालेको छ । स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा भर्खर सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि पाँच विकेटको जित निकालेको हो ।

नेपालले स्कटल्यान्डलाई हराएको यो पहिलो पटक हो । यसअघि नेपालले एकदिवसिय र टी-२० दुवै खेलमा स्कटल्यान्डलाई हराउन सकेको थिएन । जितका लागि एक सय ४५ रनको विजय लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ७१ रन बनाउनुभयो । रोहित पौडेलले अविजित ३४ र कुशल भुर्तेलले २७ रन बनाउनुभयो । बलिङमा स्कटल्यान्डका गाभिन मेनले तीन तथा एर्डिन निल र रिची बेरिन्टोनले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४२.५ ओभरका सवै विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो । स्कटल्यान्डका लागि गाभिन मेनले अविजित ६४ रन बनाउनुभयो । मार्क वाटले १७, साफ्यान शरिफले १६ र कलुम म्याकलोडले १३ रन बनाउनुभयो ।

सुरुवातमा कसिलो बलिङ गरेको नेपालका लागि सोमपाल कामी र आदील आलमले तीन तीन विकेट लिनुभयो ।कप्तान सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झार्नुभयो ।

जितसँगै १८ खेलबाट १७ अंक बनाएको नेपाल पाँचौं स्थानमा उक्लिएको छ । २२ खेलबाट ३० अंक बनाएको स्कटल्यान्ड दोस्रो स्थानमा छ । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालले सिरिजको तेस्रो खेल नामिबियाविरुद्ध शनिबार र अन्तिम खेल स्कटल्यान्डसँग आइतबार खेल्नेछ ।