• ७ फागुन २०८२, बिहिबार

कांग्रेस कार्यसमिति बैठकको निर्णय

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुरमाथि कारबाही : पार्टी साधारण सदस्‍यबाट निष्काशित

blog

कारबाहीमा पर्नु भएका नेपाली कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा । फाइल तस्बिर

काठमाडौँ, पुस ३० गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारबाही गरेको छ । 

कांग्रेस नेता मीन विश्वकर्माका अनुसार बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा र शर्मासँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको हो । 

संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन आह्वान गरेर महामन्त्रीद्वयले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै  कारबाही गर्ने निर्णय गरेको हो । 

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उहाँहरूलाई  निष्कासन गरेको विश्वकर्माले जानकारी दिनु भयो । 


महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरले कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको अगुवाइ गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यमा संलग्न रहेको संस्थापन पक्षको आरोप छ ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । केन्द्रीय समितिको यो निर्णयसँगै नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनतर्फ अघि बढेको छ । 

काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि भइरहेको विशेष महाधिवेशन अन्तर्गत अहिले सर्वसम्मत नयाँ कार्यसमिति गठन गर्ने गृहकार्य भइरहेको छ ।

कारबाहीको निर्णय जस्ताको तस्तै

‘कांग्रेसको विधान २०१७ को संसोधनसहितको धारा ३४ को उपधारा १ को देहायको खण्ड क, ख, घ को विरुद्ध नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, महामन्त्री, सहमहामन्त्री र सदस्यले अनुशासन उल्लङ्घन गरेको विभिन्न माध्यामबाट केन्द्रीय कार्यसमितिलाई जानकारी हुन आएको र त्यस सम्बन्धमा मिति २०८२/९/२९ र ३० गतेसम्मका विभिन्न मिडियामा प्रकाशित र प्रशारित समाचारबाट पनि पुष्टि भएको, मिति २०८२/९/२९ गते नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ भनी पारित गरेको भन्ने, महामन्त्रीद्वयको प्रतिवेदनसमेत पेस गरी छलफल भएर पारित गरेको भन्ने, निर्वाचन समिति समेत गठन भई निर्वाचन कार्यतालिका प्रकाशन गरेको भन्ने र आज मिति २०८२/९/३० गते महामन्त्रीमा रहेका पदाधिकारीले पार्टीको सभापतिमा र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यले विभिन्न पदमा उम्मेद्वार भई दरखास्त समेत दिएको भनी विभिन्न सञ्चारमाध्यमबाट पुष्टि हुन आएको पाइन्छ । साथै केन्द्रीय कार्यसमितिको मिति २०८२/८/१५ र कार्यसम्पादन समितिको मिति २०८२/९/१८ को निर्णय समेत उल्लङ्घन गरी मिति २०८२/९/१७ गते महामन्त्रीद्वयको हस्ताक्षरबाट नियमित महाधिवेशन स्थगन विकल्प विशेष महाधिवशेन भन्ने सूचना तथा निजले दिएको प्रेस विज्ञप्तिबाट पनि पुष्टि भएको छ । अतः नेपाली कांग्रेसको विधान २०१७ संसोधनसहित धारा ३४ (१) को खण्ड क पार्टीको आर्दश सिद्धान्त निति विपरित कुनै पनि कार्य गरेमा सोही धाराको खण्ड ख पार्टीको विधान, नियमावाली विपरित कार्य गरेमा ऐ देहाय खण्ड ग, पार्टीको आचारसंहिता उल्लङ्घन गरेमा ऐ देहाय खण्ड ङ, पार्टीलाई प्रत्यक्ष हानी नोक्सानी पुर्‍याएमा भन्ने समेत कार्यको ठाडो उल्लङ्घन गरेको हुँदा नेपाली कांग्रेसको विधानको २०१७ संशोधन सहितको धारा ३४ उपधारा १ को देहाय खण्ड क ख ग ङ विरुद्धका कार्य गर्ने त्यस्ता पदाधिकारीलाई र सदस्यलाई अपरझट अनुशासनको कारबाही गर्नुपरेको समेतको कारणले कांग्रेसको विधानको २०१७ संशोधनसहित धारा ५०(५) उल्लेख भए बमोजिमको व्यवस्था समेतको आधारमा कांग्रेसको विधानको २०१७ संशोधनसहितको धारा २२ (२०) तथा धारा ३४ (८) को देहाय खण्ड घ,ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी आजको मितिबाट लागु हुने गरी पार्टीबाट निष्कासन गरिएको छ । कारबाहीमा परेका पदाधिकारी तथा सदस्य महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुर रहेका छन् ।’  


पौष ३०, २०८२

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । पौष २९ र ३० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले देहाय बमोजिमको निर्णयहरू गरेको छ—

निर्णयहरू 

(१) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८२ पौष ९, पौष १०, पौष ११, पौष १२, पौष १३, पौष १४, पौष १८, पौष २१, पौष २२, पौष २३ र पौष २४ गते बसेको बैठकको निर्णयहरुलाई कार्यसमितिको यो बैठक अनुमोदन गर्दछ । 

(२) वाधा अड्काउ फुकाउने सम्बन्धमा :

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (८), धारा ३४ को उपधारा (८) को देहाय खण्ड (ग) र (घ) मा रहेको व्यवस्था कार्यान्वयन गर्न वाधा अड्काउ परेकोले विधानको धारा ७१ बमोजिमको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिले देहाय बमोजिम वाधा अड्काउ फुकाउने गरी निर्णय गरेको छ । 

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २२ उपधारा (२०) ऐ. धारा ३४ को उपधारा (८) को देहाय खण्ड (ग) र (घ) मा उल्लेखित व्यवस्थालाई निम्न बमोजिम कायम गर्ने गरी वाधा अड्काउ फुकाइएको छ ।

वाधा अड्काउ फुकाउने गरी भएको व्यवस्था

(क) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (८) मा रहेको व्यवस्था निम्न बमोजिम कायम गरिएको छ । 

२५ (८) : पार्टीका केन्द्रीय निकायद्वारा भएका निर्णयहरूको प्रमाणित गर्ने तथा केन्द्रीय निकायबाट भएका निर्णयहरू कार्यान्वयन भए नभएको रेखदेख गर्ने गराउने र कार्यान्वयनका लागि निर्देशन दिने । 

(ख) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (ग) र (घ) मा भएको व्यवस्था निम्न वमोजिम कायम गरिएको छ : 

धारा ३४ को उपधारा ८ (ग) : जिल्ला वा प्रदेशले कारबाही गरेको वा कारबाही गर्न सिफारिस गरेको बाहेक पार्टीको उद्देश्य, नीति र आचारसंहिता विरुद्ध अथवा विधानको उलंघन भयो भने पार्टीका निकाय, पदाधिकारी वा सदस्वाट केन्द्रीय कार्यसमिति वा केन्द्रीय अनुशासन समितिमा सोझै उजुरी परेमा वा केन्द्रीय कार्यसमिति वा केन्द्रीय अनुशासन समितिमा कुनैपनि रुपमा जानकारी हुन आएमा केन्द्रीय कार्यसमिति वा केन्द्रीय अनुशाासन समितिले जुनसुकै तहको अनुशासन सम्बन्धी कारवाहीको निर्णय गर्न र गराउन सक्नेछ । 

धारा ३४ (८) (घ) : अनुशासन भङ्ग गर्ने निकाय  वा पदाधिकारी वा सदस्यमाथि कारवाही वा जिल्ला वा प्रदेश अनुशासन समितिको निर्णयमा पुनरावेदन निर्णय गर्दा नियमावली र आचारसंहिता अनुसार कसुर हेरी सम्झाउने, चेतावनी दिने, निलम्वन वा निस्काशन गर्ने । त्यस्तो कारवाही गर्दा आफ्नो सफाई दिने मौकावाट कसैलाई पनि वञ्चित गरिनेछैन । तर अपर्झट रुपमा अनुशासन सम्बन्धी कारवाही गर्नु गराउनु परेको अवस्थामा सफाईको मौका दिनु पर्ने व्यवस्था अनिवार्य हुने छैन ।

(३) अनुशासन सम्बन्धी कारवाही सम्वन्धमा,

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (१) को देहाय खण्ड (क) (ख) (ग) र (ङ) मा उल्लेखित कार्यहरू गरी नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरू, महामन्त्रीहरू, सह–महामन्त्रीहरू र सदस्यहरूले अनुशासनको ठाडो उल्लंघन गरेको व्यहोरा विभिन्न माध्यमबाट केन्द्रीय कार्यसमितिलाई जानकारी हुन आएको र त्यस सम्वन्धमा मिति २०८२-९-२९ र ३० गते सम्मका विभिन्न मिडियामा प्रकाशित र प्रसारित समाचारबाट पनि पुष्टि भएको, मिति २०८२-०९-२९ गते नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२ पारित गरेकोे भन्ने, महामन्त्रीद्वयको प्रतिवेदन समेत पेश गरी छलफल भई पारित गरेको भन्ने, निर्वाचन समिति गठन गरी निर्वाचन कार्यक्रमको तालिका प्रकाशन गरेको भन्ने र आज मिति २०८२-९-३० गते महामन्त्रीमा रहेका पदाधिकारीले पार्टीको सभापतिमा र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले विभिन्न पदमा उम्मेदवार भई दरखास्त समेत दिएको भनी विभिन्न समाचार माध्यमबाट समेत पुष्टी हुन आएको पाइन्छ । साथै, केन्द्रीय कार्यसमितिको मिति २०८२-८-१५ र केन्द्रीय कार्यसम्पादन समितिको मिति २०८२-९-१८ को निर्णय समेतको उल्लघंन गरी मिति २०८२-९-१७ गते महामन्त्रीद्वयको हस्ताक्षरबाट नियमित महाधिवेशन स्थगन-विकल्प विशेष महाधिवेशन गर्ने सूचना तथा नीजहरुले दिएको प्रेस विज्ञप्तिबाट पनि पुष्टि भएको छ । अतः नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ (१) को खण्ड (क) पार्टीको आदर्श सिद्धान्त र नीति विपरित कुनै पनि कार्य गरेमा ऐ. देहाय खण्ड (ख) पार्टीको विधान, नियमावली विपरित कार्य गरेमा ऐ. देहाय खण्ड (ग) पार्टीको आचारसंहिता उल्लघंन गरेमा र ऐ. देहाय खण्ड (ङ) पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हानी नोक्सानी पु¥याएमा भन्ने समेतको निषेधित कार्यहरु गरी अनुशासनको ठाडो उल्लघंन गरेको हुँदा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (१) को देहाय खण्ड (क) (ख) (ग) (ङ) उल्लेखित निषेधित कार्य गर्ने त्यस्ता पदाधिकारीसदस्यलाई अपर्झट अनुशासनको कारवाही गर्नु परेको समेतका कारणले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ५० (५) उल्लेख भए वमोजिमको व्यवस्था समेतका आधारमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा (८) को देहाय खण्ड (घ) (ङ) वमोजिम नेपाली कांग्रेस पार्टीको सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट ५ वर्षका लागि निस्काशन गरिएको छ ।

कारवाहीमा परेका पदाधिकारी सदस्यहरू

१. श्री गगनकुमार थापा, महामन्त्री

२. श्री विश्वप्रकाश शर्मा, महामन्त्री

३. श्री फरमुल्लाह मंसूर, सहमहामन्त्री

(४) केहि दिनदेखि पार्टीको विशेष महाधिवेशनका विषयलाई लिएर विमति राख्दै “तथाकथित विषेश महाधिवेशन” बोलाउनु र त्यस्तो कार्यक्रममा सहभागी हुन आह्वान गरे पश्चात आवेग, उत्तेजनाको भरमा सहभागि हुनु र पार्टी हित विपरित हुने गरिएका अभिव्यक्ति दिनु अहिलेको संकटकालीन राजनीतिक अवस्थामा एक जिम्मेवार पार्टी सदस्यका लागि कदापि शोभनीय कार्य मान्न सकिदैन । 

तसर्थ, त्यस्तो कार्यक्रममा सहभागी नहुन र भएका साथीहरूलाई पनि यथाशिघ्र पुनः पार्टीको जिम्मेवारीमा फर्किएर नेपाली कांग्रेस पार्टीको निर्णय अनुसार घोषित १५ र्औ महाधिवेशनका कार्यक्रम सफल पार्न तथा २०८२ फागुण २१ को प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने कार्यमा निरन्तर सकृय रहन हार्दिक आह्वान गरिन्छ । 

जय नेपाल !

कृष्णप्रसाद पौडेल

मुख्य सचिव