• १० मंसिर २०८१, सोमबार

प्रदेश सरकारद्वारा स्वास्थ्य उपकरण सहयोग

blog

अविनाश चौधरी

धनगढी, असार २९ गते । सुदूरपश्चिम प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालनका लागि धनगढी उपमहानगरपालिकालाई २५ लाख ५३ हजार रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । 

धनगढी उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत सो सामग्री सहयोग गरेको हो । सामाजिक विकासमन्त्री गोविन्दबहादुर बोहराले बुधबार धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानालाई संयुक्त रुपमा सो सामग्री हस्तान्तरण गर्नुभयो । 

धनगढी उपमहानगरपालिकाले नगरको १९ वटै वडामा पाँच वर्षसम्म वडा स्वास्थ्य क्लिनिक सञ्चालनको तयारी गरेको छ । स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेकाहरुसहित  नगरवासीलाई लक्षित गरेर साउन १ गतेबाट सो क्लिनिक सुरुवात गरिन लागेको उपमहानगरपालिकाले जनाएको छ । 

विशेषज्ञसहितको वडा क्लिनिक सञ्चालनका लागि प्रदेश सरकारले प्रिन्टरसहितको अल्ट्रासाउण्ड मेशिन, १२ च्यानलसहितको अत्याधुनिक इसीजी मेशिन र मोबाइल ल्याब धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । 

सो अवसरमा सामाजिक विकासमन्त्री बोहराले नगर प्रमुख र उपप्रमुखसँग सल्लाह गरेर स्वास्थ्य शिविरका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नगर प्रमुखको आग्रहमा सामग्री सहयोग गरिएको जानकारी दिनुभयो ।  

यस्तै, धनगढी उपमहानगरपालिकाका प्रमुख हमालले विशेषज्ञ सेवासहितको वडा क्लिनिकलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सकेमा जनतालाई दुवै सरकारको अनुभूति हुने बताउनुभयो । धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्ने वडा क्लिनिकका लागि भाटभटेनी सुपरमार्केटले पाँच वर्षसम्म विशेषज्ञ चिकित्सकको तलब, भत्ता व्यहोर्ने सहमति गरेको छ । 

धनगढी उपमहानगरपालिकामा आर्थिक विपन्नताका कारण कतिपयको स्वास्थ्योपचार पाउन नसक्ने अवस्था पनि छ । त्यस्ता व्यक्तिलाई वडा क्लिनिकमार्फत उपचारमा सहयोग पुग्ने धनगढी उपमहानगरपालिकाले अपेक्षा गरेको छ ।