हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), पुस २९ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-१,छोसेरका कृषक आङ्ग्याल गुरूङकाे उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-१,छोसेरमा रहेको ‘झोङ्ग’गुफाको पछाडिको पहाडमा च्याङ्ग्राको बथान छ ।
चिसो बढेसँगै तापक्रम ऋणात्मक भए पनि च्याङ्ग्रा व्यवसायी गुरूङ दैनिक गोठालासहित चरन क्षेत्रमा पुग्ने गर्नुहुन्छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरलाको नाकामा करिब ७ सय च्याङ्ग्राको चरन क्षेत्र व्यवस्थापन गर्दागदै गुरूङलाई चिसो झल्न बेंसी झर्ने फुर्सद समेत छैन । समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटरको उचाइसम्म छोसेरका च्याङ्ग्रापालक कृषकहरूको गोठहरू भेटिन्छन् । १९ वर्षदेखि च्याङ्ग्रा पालनमा सक्रिय गुरूङले बर्सेनि १ करोडभन्दा बढीको च्याङ्ग्रा बेच्नुहुन्छ ।
कठोर हावापानीमा हुर्किने च्याङ्ग्राका लागि चरन क्षेत्रमा गोठ बनाएर गोठालाको जिम्मा लगाएर छोड्ने गरिन्छ । कृषक गुरूङ भन्नुहुन्छ,‘‘अत्याधिक जाडो भएपनि हिउँ परेको छैन, चरन क्षेत्रमा घाँस भएकाले सहज भएको छ ।’’चरन क्षेत्रमा राखिएका च्याङ्ग्रालाई हिउँचितुवा र ब्वाँसोले सताउने गरेको कृषक निमा गुरूङले बताउनुभयो । माथिल्लो क्षेत्रबाट झरेका हिउँचितुवा र हिमाली ब्वाँसोबाट जोगाउन हम्मेहम्मे भएको बताउनुभयो । विगत आधा दशकयता पुस, माघमा पनि हिमपात नहुदाँ चरन क्षेत्र व्यवस्थापनमा चुनौती बन्दै जान थालेपछि पशुपालक कृषकले बजारबाट दानासमेत व्यवस्थापन गरी जाडोयाममा राख्ने गरेका छन् ।

उपल्लो मुस्ताङका १० भन्दा बढी कृषकको ठूलो सङ्ख्यामा च्याङ्ग्रा रहेकाले पुस, माघको महिनामा पनि चरन क्षेत्रमै राख्ने गरिएको छ ।गोठालोलाई जाडोयाममा मासिक ज्यााला धेरै दिएर राख्ने गरिएको कृषक छिङ्मी गुरूङ बताउनुहुन्छ । जाडो समयमा गोठालालाई टिकाउन निकै समस्या भएको कृषकको भनाइ छ ।
उच्च लेकमा चिसोसँगै हिमपातका कारण चरन क्षेत्रमा बिरामी पर्ने जोखिमलाई दृष्टिगत गरी बस्ती नजिकै रहेका चरन क्षेत्रमा गोठमा समेत च्याङ्ग्रा रहेको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका प्रमुख डा.लालमणि अर्यालले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १३ हजार र लोमन्थाङ गाउँपालिकामा १० हजार च्याङ्ग्रा रहेको बताउनुभयो । लो घेकर दामोदरकुण्ड चराङमामा च्याङ्ग्रा स्रोतकेन्द्र छ ।
माथिल्लो क्षेत्रमा चिसो हावापानीमा हुर्किने भएकाले धेरैजसो कृषकले हिमपात नभएको क्षेत्रमा भेटिने चरनमा छोड्ने गरेको प्रमुख डा. अर्यालको भनाइ छ । थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा माथिल्लो क्षेत्रबाट झारिएको छ ।बेशीतिर पर्याप्त चरन सुनिश्चित गर्ने तथा उपचार गर्ने गरिन्छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालयका अनुसार जिल्लाभर १ सय सूचीकृत कृषकको गोठबाट दशैंतिहारमा ३६ करोडभन्दा बढी मूल्य बराबरको भेडा च्याङ्ग्राको व्यापार भएको थियो । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विशेष गरी जडीबुटी खाएर हुर्केकोे भन्दै स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी मानिन्छ।
