सुधा देव
भारदह(सप्तरी), पुस २९ गते । प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन प्रहरी पदका लागि जिल्लामा तीन दिनमा ४ हजार ३८ जनाको आवेदन दर्ता गराएका छन् । जिल्लामा बेरोजगारीको संख्या उल्लेख्य रहेकोले निर्वाचन प्रहरी पदका लागि आवेदन दिनका लागि जिल्लाको विभिन्न स्थानबाट आएका सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ ।
दिनहुँ फारम भर्नेको संख्या एक हजार ३ सय नाघेको र भिड भने कम नभएको सप्तरी डिएसपी एवं प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीले बताउनुभयो । उहाँ भन्नुभयो, यस्तै रहयो भने फारम भर्ने अन्तिम दिन १ गतेसम्म आवश्यकता भन्दा दोब्बर भन्दा बढीले आवेदन फर्म भर्ने निश्चित छ ।
निर्वाचन प्रहरी पदमा १८ वर्ष पूरा भई ५४ ननाघेको नेपाली नागरिकले आवेदन दिन पाउने छन् । नियुक्ति हुने निर्वाचन प्रहरीको पद ४० दिनसम्म रहने भएपनि आवश्यकता अनुसार बढाउन सकिने छ । प्रतिदिनको सेवा सुविधा प्रतिदिन ८ सय ६९ रूपियाँ ४० पैसाका दरले ४० दिनको.३४ हजार ७ सय रूपियाँ पारिश्रमिक दिने जनाएको छ ।
सेवा सुविधा अन्तर्गत प्रतिदिन ८ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक रु. ३४ हजार ७ सय ७६ प्रदान गरिने जनाइएको छ ।