सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) पुस २९ गते । जिल्ला सहकारी सङ्घ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले धनकुटामा सञ्चालित केही सहकारी सञ्चालकले सहकारीमार्फत रकम ठगी गर्दा विश्वास घट्दै गएकोे बताउनु भएको छ । सङ्घ धनकुटाको १४औँ वार्षिक साधारण सभामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
जिल्लामा केही सहकारी सञ्चालकहरूले नै नियोजित रूपमा रकम ठगी गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘‘जसले गर्दा पछिल्लो समय सहकारी प्रति जुन विश्वास थियो, त्यो घट्दै गएको छ ।’’
जिल्लामा सञ्चालित उत्कृष्ट र राम्रा सहकारी सञ्चालकहरूलाई समेत प्रश्न उठ्ने गरेको उहाँले बताउनु भयो । यसको असर अरूले समेत भोेग्नु परेको उहाँको भनाइ छ ।
यस्तै जिल्लामा तीन सय ३० भन्दा बढी सहकारी संस्था क्रियाशिल रहेको पाइएको छ । ती सहकारीमा ३७ हजारभन्दा बढी सदस्य रहेका छन् । सङ्घ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको तथ्याङ्क धनकुटामा ४२ वटा सहकारी महिलाले मात्रै सञ्चालन गरेको पाइएको छ । कर्याक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिम्सिनाले आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरूले जिल्लामा रहेका सहकारीको गतिविधि सकारात्मक बनाउँदै लैजानुपर्ने बताए । यस्तै सहकारीबाट बचतकर्ता ठगिएका बारेमा सहकारी सङ्घले आवश्यक काम कारबाही गरेर अगाडि जानुपर्ने समेत धारण राखेका थिए । साधारण सभामा विषयगत सहकारीका विषयमा सभागीले विभिन्न आफ्ना धारणा समेत प्रस्तुत गरेका थिए ।