• १८ असार २०८१, मङ्गलबार

राष्ट्रियसभाका अध्यक्ष र मधेशी आयोगका अध्यक्षबीच छलफल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २९ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तबीच आज सिंहदरबारमा छलफल भएको छ । संवैधानिक निकायलाई सशक्त र प्रभावकारी बनाउने विषयबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । 

करिब एक घण्टा लामो छलफलमा मधेशी आयोगका अध्यक्ष डा. दत्तले संवैधानिक निकायलाई प्रभावकारी बनाउन राष्ट्रियसभा र अन्तर्गतका सरोकारवाला समितिहरुले प्रभावकारी पहल गरेर सरकारलाई उचित सल्लाह, सुझाव तथा निर्देशन गरिदिन अध्यक्ष तिमिल्सिनालाई आग्रह गर्नुभयो । आयोगलाई औपचारिक जानकारीबिनै आयोगका कर्मचारीको सरुवा गर्न नहुने आग्रह गर्नुभएको अध्यक्ष दत्तका स्वकीय सचिव दीपेन्द्रकुमार यादवले बताउनुभयो ।

मधेशी समुदायलाई सशक्तीकरण गर्न तथा अन्य महत्वपूर्ण जिम्मेवारी बोकेको तथा संविधानले बनाएको आयोगलाई न्यून बजेट दिने, आयोगलाई भौतिक पूर्वाधारको अभाव, न्यून जनशक्तिजस्ता समस्याहरुले आयोगले आफ्नो भूमिका प्रभावकारी रुपमा देखाउन नसकेको अध्यक्ष दत्तले गुनासो गर्नुभयो । 

अध्यक्ष डा. दत्तले राष्ट्रियसभा वा प्रतिनिधि सभा अन्तर्गत संवैधानिक निकायसँग सरोकार राख्ने समितिहरुले समेत प्रतिवेदनमाथि विगत २ वर्षदेखि छलफल हुन नसकेको उहाँले बताउनुभयो । 

छलफलको क्रममा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले संबैधानिक आयोगहरुले सरकारलाई गलत कदम नचाल्न घच्घच्याउने काम गर्नुपर्ने सुझाव दिनुभयो । सरकारले संबैधानिक आयोगहरुमाथि नियन्त्रण गर्न नहुने र आयोगलाई प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।

जनशक्तिको पदपूर्ति र सिफारिसको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने र त्यसमा आयोगलाई राष्ट्रिय सभा र अन्तर्गतका समितिलाई पूर्ण सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता अध्यक्ष तिमिल्सिनाले जनाउनुभयो । 

छलफलमा आयोगका अध्यक्ष डा. दत्तले मधेशी आयोगले तयार पारेको मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७९ अध्यक्ष तिमिल्सिनालाई हस्तान्तरण गर्नुभयो  ।