लहान समाचारदाता
लहान (सिराहा), पुस २९ गते । लहान नगरपालिका–२३, गढामा खानेपानी आयोजना निर्माण सुरु भएको २० वर्ष भइसक्दा पनि सुचारु हुन नसकेपछि आयोजना सुचारु गरी खानेपानी उपलब्ध गराउन उपभोक्ताहरूले माग गरेका छन् ।
स्थानीय बासिन्दाका अनुसार आयोजना निर्माण सुरु भएको बिस वर्ष भयो । सो ठाउँमा खानेपानीको ट्याङ्की जडानका लागि बोरिङ, मोटर जडान र ओछ्याउने पाइप पनि जडान भए तर आयोजना अझै सुचारु भएको छैन । ट्याङ्की निर्माणस्थल रहेको करिब एक बिघा जमिनमा पर्खालले घेरिएको छ । किन पानी निकालेर अन्य काम अघि बढ्न सकेको छैन भन्ने कुराको जानकारी पनि छैन । यो अन्योलता हटाएर खानेपानी सुचारु गर्न स्थानीय उपभोक्ताले माग गरेका छन् । यही वडामा जिल्ला समन्वय समिति सिराहाका प्रमुख दिनेश महतो र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको घर यही पर्छ ।
स्थानीय रामविलास यादव भन्नुहुन्छ, “बिस वर्षअगाडि लहान नगरपालिकाको अहिलेको वडा नम्बर २३ गढा गाउँ विकास समिति नै थियो । सात सय घरपरिवारलाई स्वच्छ खानेपानीका लागि नौ करोड रुपियाँको लागतमा योजना अगाडि बढाउन पूर्ववडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताको अध्यक्षतामा समिति गठन भयो । समितिले अहिलेसम्म के प्रगति भयो कति रकम खर्च भयो ? कुनै हरहिसाब उपभोक्तालाई सुनाएको छैन । अलपत्रमा परेको यो खानेपानी आयोजनाको हरहिसाब र खानेपानी उपभोग गर्न पाउनुपर्ने हाम्रो माग छ ।”
खानेपानी उपभोक्ता समितिका अध्यक्ष कन्हैयाप्रसाद गुप्ताका अनुसार अहिलेसम्म उपभोक्ता समितिमा आएको छ लाख रुपियाँले पर्खाल निर्माण भयो । ओभर ट्याङ्की निर्माण, बोरिङ जडानलगायतका कामका लागि ताकिता गर्दा खानेपानी डिभिजन कार्यालय राजविराजले एक वर्षमा गर्नुपर्ने काम तीन वर्ष लगाएर सम्पन्न गरियो । डिभिजन कार्यालयबाट लहान नगरपालिकाको पहलमा नेपाल खानेपानी संस्थान लहानको जिम्मामा सो आयोजना आएको छ । संस्थानले बेवास्ता गरिरहेकाले २०६२ सालमा सुरु भएको खानेपानी आयोजना सुचारु हुन सकको छैन ।
खानेपानी डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादवसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो, “२०७८ सालमा लहान नगरपालिकाभित्रका खोनेपानी योजना नेपाल खोनेपानी संस्थान लहान र वाटरएड अन्तर्गतको विकन परियोजनाले नै गर्ने लहान नगरपालिकाले निर्णय गरेपछि यस कार्यालयले हात झिकेको हो ।”
लहान नगरपालिकाको उत्तरी भेगमा खानेपानीको हाहाकार नै भएकाले प्राथमिकतामा लहान १३, १४, १६ र २४ नम्बर वडाको खानेपानी सुचारु गर्ने कार्यलाई प्राथमिकता दिएको नेपाल खानेपानी संस्थान लहानका प्रमुख रामेशकुमार गोइतले जानकारी दिनुभयो । उहाँको अनुसार यस वर्षदेखि लहान २३ वडाको खानेपानी सुचारु गर्ने तयारी भइरहेको छ । प्राविधिकहरूले पहिलो चरणको सर्वेसमेत गरिसकेको छ ।