अमरराज नहर्की
तनहुँ, पुस २९ गते । चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि त्रिशूली नदीमा बेपत्ता रहेको बसको अवशेष निकाल्न मङ्गलबार तेस्रो दिन पनि उत्खनन कार्य जारी रहेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दुन्द्राङबेँसीस्थित नदी किनारमा आइतबार फेला परेको बसको भग्नावशेष निकाल्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले प्रयासलाई झनै तीव्र पारेको छ ।
अवरोध छिचोल्दै सुरक्षाकर्मी वि.सं. २०८१ असार २८ गते पहिरोसँगै त्रिशूलीमा खसेको काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस १८ महिनापछि बालुवा र गेग्रानको थुप्रोमुनि फेला परेको हो । आइतबार र सोमबार दिनभरको अथक प्रयासपछि पनि बसको धेरै भाग बालुवामा गाडिएको र लेदोले भरिएकाले निकाल्न चुनौती देखिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बस निकै गहिरोसँग पुरिएको र क्षतविक्षत अवस्थामा रहेकाले प्राविधिक सावधानी अपनाउँदै मङ्गलबार बिहानैदेखि पुनः उत्खनन सुरु गरिनेछ ।
बेपत्ता यात्रुको आश र १८ महिनाको पर्खाइ सिमलतालको त्यो भयावह रातमा दुईवटा बस त्रिशूलीमा खस्दा ५१ यात्रु अझै बेपत्ता छन् । भारतका गोताखोरले समेत लामो समयसम्म खोज्दा फेला पार्न नसकेको बसको अवशेष आइतबार फेला परेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय साराङघाट र आँबुखैरेनीसहित चितवन र तनहुँका ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
मङ्गलबार बसलाई पूर्ण रूपमा बाहिर निकाल्न सकेमा त्यहाँ बेपत्ता यात्रुहरूका केही अवशेष वा महत्त्वपूर्ण प्रमाण फेला पर्न सक्ने सुरक्षा निकायको विश्वास छ । प्रनाउ विकले भन्नुभयो, “बस नदीको गेग्रानमा निकै गहिरोसँग पुरिएको छ, हामी यसलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयासमा छौँ ।”