• २७ पुस २०८२, आइतबार

ढालिएका शिर उठाउने प्रयत्न

blog

जतिखेर पहिचानसहितको सङ्घीयताको मुद्दाले सडक बलिरहेको थियो । पहिलो संविधान सभा विघटन उन्मुख थियो । सदियौँदेखि राज्यबाट दमित जनजाति, सीमान्तकृत समुदाय दिउँसो पत्थर र साँझमा राँको लिएर काठमाडौँका सडकमा ओर्लिएका थिए । कोटेश्वरस्थित किरात राई यायोक्खाको हलमा गर्मागर्मी बहस हुन्थ्यो । पहिचानको मुद्दा तत्कालीन नेकपा (माओवादी) ले परालको कुनिउँमा आगो सल्काए झैँ धुवाँ धुवाँ थियो । त्यहीबेला यायोक्खाकै हलमा कवि भूपाल राईले गर्नुभएको एक भाषणको वाक्य यस्तो थियो, “पहिचानको कुरा गर्दा मलाई धेरैले तपाईं कहिलेदेखि माओवादी हुनुभयो ? भनेर सोध्छन् । वास्तवमा म माओवादी बनेको हैन, माओवादी चाहिँ म जस्तै बनेको हो ।”

ठ्याक्कै यही प्रसङ्ग पढ्न पाइन्छ राईको पछिल्लो निबन्धसङ्ग्रह ‘शब्द सायारेम’ को ‘एउटा गीतको सङ्कटकालीन कथा’ शीर्षाकृत निबन्धको अन्तिम परिच्छेदमा । नेपालमा प्रजातन्त्र स्थापनापश्चात् उहाँले लेख्नुभएको एउटा गीतलाई पञ्चायती र एकल नस्लीय सोचबाट ग्रसित तत्कालीन राज्यका निकायले कसरी प्रतिबन्धित ग¥यो भन्ने प्रसङ्ग लेखकले रोचक रूपमा प्रस्तुत गर्नुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका राईको पहिलो निबन्धसङ्ग्रह हो, ‘शब्द सायारेम’ । यसको अर्थ चाम्लिङ राई भाषामा ढलेका शिर उठाउने कार्य वा अनुष्ठान हो । लेखककै भाषामा भन्नुपर्दा यी ढलेका शिर उठाउने काम खालि दिवङ्गत पितृका लागि मात्र समर्पित नभई सीमान्तकृत समुदायमाथि राज्यले गरेको विभेदका कारण ढलेका शिर उठाउने शाब्दिक अनुष्ठान पनि हो ।

अधिकांश कविता र गीतमा आगो ओकल्न सक्ने एक विद्रोही चेतका कवि राईलाई त्यो मायाप्रेमका कविता सिर्जना गर्ने उमेरमा कसरी विद्रोह चेतको बिजारोपण भयो ? त्यसका पछाडि कुन अजीव चिज थियो होला, जसले भूपाल राईलाई सधैँ अरूभन्दा भिन्न हुन प्रेरित गरिरह्यो ? उहाँका दुई आदर्श पात्र ‘आदिकवि कविते कामी र राष्ट्रकवि सोताङ्गे जेठालाई सम्बोधन’ निबन्धमा उहाँले यी विषयमाथि बेजोड चिन्तन गर्नुभएको छ । मेरो नजरमा यस निबन्धसङ्ग्रहको सम्भवतः सबैभन्दा सशक्त निबन्ध हो, ‘तपाईंको पहाड घर कहाँ हो ?’ यस निबन्धमा उहाँले अहिलेसम्म इतिहासमा राजा महेन्द्रलाई जसरी एक राष्ट्रवादी र विकासका प्रणेताका रूपमा अथ्र्याइएको थियो । त्यसलाई आलोचनात्मक सिद्धान्तको जगमा उभिएर उहाँले घुन मकै केलाउने प्रयत्न गर्नुभएको छ । पुनर्वास कम्पनी, पूर्वपश्चिम महेन्द्र राजमार्ग र मलेरिया उन्मूलन उपशीर्षकमा उहाँले महेन्द्रीय राष्ट्रवादले कसरी नेपालका आदिवासी समुदायको छातीमा बुट बजार्ने काम ग¥यो भनेर अकाट्य तर्क पेस गर्नुभएको छ । अझ उहाँले २०७२ सालमा टीकापुरमा भएको नरसंहार त्यही राष्ट्रवादी आगोको बिउ रहेको दाबी गर्नुभएको छ । 

अमेरिका पत्ता लगाएका इटालियन अन्वेषक क्रिस्टोफर कोलम्बसलाई विम्ब बनाएर उहाँले कसरी आदिवासीका इतिहास नामेट पार्ने काममा नस्लीय शासक उद्यत छन् भनेर ‘कोलम्बस पाइला : रैथाने ज्ञानको अनन्त दुःख’ मा केही तथ्यसहित वर्णन गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “तपाईंलाई लाग्ला, कोलम्बस उहिल्यै मरिसक्यो तर हेक्का रहोस्; कोलम्बस अझै मरेको छैन । त्यो एउटै फ्याक्टर नयाँ नयाँ संस्करणमा हरेक ठाउँ, हरेक समय दोहोरिइरहेको छ ।”

दलित भएकै कारण काठमाडौँमा डेरा नपाएकी रूपा सुनारको कथालाई लिएर जातीय विभेदको सिकार भोगिरहेका विभिन्न उत्पीडित समुदायको वास्तविकता पस्किने प्रयास राईले ‘म महान् बन्न सक्दिनँ, रूपा’ निबन्धमा गर्नुभएको छ । सो निबन्धमा उहाँले झन्डै आजभन्दा ४५ वर्षअघि बाल्यकालमा आफ्नै विद्यालयका गुरुमार्फत उहाँले भोग्नुभएको एक दर्दनाक विभेदको घटनालाई उदाहरणका रूपमा स्मरण गर्नुभएको छ; जुन घटनाका कारण उहाँको मानसिकतामा पर्न गएको प्रभाव उहाँको लेखनीमा देखिएको राईको जिकिर छ ।

जम्मा १८ वटा निबन्ध सङ्गृहीत यस सङ्ग्रहमा ‘राइन किनारमा शेर्पा दाई’, ‘हङकङ, जहाँबाट संसार सुरु हुन्छ’, ‘माक्र्सलाई लालसलाम गर्दाको त्यो साँझ’ संस्मरणात्मक निबन्ध हुन् । यी संस्मरणात्मक निबन्धमा लेखकले कतै पाठकलाई समेत सोचमग्न बनाउने प्रश्न गर्नुभएको छ, कतै लेखकसँगै पाठकलाई यात्रा गराउन सफल हुनुभएको छ । ‘राइन किनारमा शेर्पा दाइ’ निबन्धमा उहाँले जर्मनी यात्राका क्रममा राइन नदीको किनारैकिनार रेलमा गुडिरहेका बेला भोगेको एक संयोगको फेहरिस्त कहनुभएको छ । जब उहाँलाई नेपाल नाम कहिल्यै नसुनेका केही जर्मन किशोरीले ‘शेर्पा ब्रदर’ भनेर बोलाए, आखिर देश भनेको के रहेछ त भन्ने प्रश्नले लेखकको मथिङ्गल हल्लाएको छ । उहाँले भन्नुभएको छ, “देश भनेको त भूगोल मात्र होइन रहेछ । राजकीय ऐनामा सर्वदा दाहोरिइरहने शासकको अनुहार मात्र पनि होइन रहेछ । देश त सत्ताको ऐनामा कहिल्यै नदेखिने मान्छेको चित्र रहेछ । ती मान्छेका धूमिल अनुहार रहेछ...।”

केही निबन्ध लेखकका वेदनात्मक उद्घाटन पनि छन् । जस्तै, ‘भाइको चिहान र कदमको रुख’, ‘त्यसपछि आमा माकुरा हुनुभो’, ‘जसलाई माटोसमेत दिन पाइएन’ जस्ता निबन्धले पाठकलाई लेखकसँगै भावविभोर बनाउँछ । 

लेखकले एक सुदूर अतीतको सन्दर्भ कोट्याएर लेख्नुभएको ‘कहाँ गए गीतका ती भरियाहरू !’ शीर्षकको निबन्धले ५० को दशकसम्ममा जन्मिएका पुस्तालाई ‘नोस्टाल्जिक’ बनाउँछ । खास गरी उहाँले लेख्नुभएको चर्चित गीत ‘सुनकै भाउ छ सुन्तला भारीको, चाखी जानु भन्ने मनकारीको, खै त बुटजुत्ता, कतिन्जेल धाउँछौ दाइ धरान–धनकुटा...’ गीतको भ्रूण कथा हो यो । २७/२८ सालतिर धरान–धनकुटामा पैदल हिँड्दा भेटिने ती दृश्यलाई उहाँले गीतमा उन्नुभएको सन्दर्भ केलाउनुभएको छ । भरियाको निधारका नाम्लो, काँधको खकन, ढाकर टेकाउने तोक्मा र पसिना पुछ्ने रुमालको सम्झना गीतको माध्यमबाट गर्नुभएको प्रसङ्ग उल्लेख गर्नुभएको छ । साँगुरीभन्ज्याङ जस्तै अग्ला र सुन जस्ता पहेँलै सुन्तलाका भारी बोकेर धनकुटाको खोकु छिन्ताङदेखि धरानतर्फ झरेका भरियाको दृश्य अबका पुस्ताले कहिल्यै देख्न नपाउनेमा उहाँ ढुक्क हुनुहुन्छ । 

‘मेरो दाहिने हातको कथा’, ‘प्रिय जीवनका अप्रिय तीन घटना’ लगायतका निबन्धमा पनि लेखक स्वयम्को जीवनमा घटित घटनाका गहिरो प्रभाव पढ्न पाइन्छ; जसभित्र आफू हुर्केको समाज, सामाजिक अन्धविश्वास, धर्म, सांस्कृतिक चेतना सबै विषय मिठासपूर्ण रूपमा उद्घाटित छन् । एक व्यक्तिको जीवनलाई फरक फरक आयामबाट विश्लेषण गर्न सकिने रहेछ भन्ने यस सङ्ग्रहका निबन्धले पुष्टि गरिदिन्छ । 

बुकहिलले बजारमा ल्याएको २१४ पृष्ठको ‘शब्द सायारेम’ एकै बसाइमा पढ्नमा सकिन्छ । यस सङ्ग्रहका कतिपय निबन्ध विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । सङ्क्षेपमा भन्नुपर्दा यो सङ्ग्रह सामाजिक, सांस्कृतिक विभेदविरुद्ध आलोचनात्मक चेतसहितको सँगालो हो; जसले सदियौँदेखि जरा गाडेको विभेदरूपी समाजका लागि कैयौँ विमर्शयोग्य प्रश्न गरेको छ । यद्यपि लेखक पनि त्यही समाजको उत्पादन भएकाले कतिपय दुबिधा निबन्धभित्र देखिनु स्वाभाविक हो । जस्तो कि उहाँले ‘मेरो दाहिने हातको कथा’ निबन्धमा देब्रे अर्थात् बायाँलाई अशुभ झैँ मानिनु एक अन्धविश्वास मात्र हो भन्ने भाव प्रस्तुत गर्नुभएको छ भने उहाँकै ‘एउटा गीतको सङ्कटकालीन कथा’ शीर्षाकृत निबन्धमा उल्लिखित गीतको एउटा अन्तरामा भनिएको छ–

उठी हिँड्नेलाई यात्रा दायाँ छ

थाकी बस्नेलाई छायैछाया छ...।