• २७ पुस २०८१, शनिबार

सहभागीलाई १.५ प्रतिशत प्रतिफल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २९ गते । नागरिक लगानी कोषले सञ्चालन गरेका विभिन्न कार्यक्रमका सहभागीहरूलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरेको छ । आगामी साउन १ देखि लागू हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई वार्षिक आठ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने कोषले जनाएको छ ।

यसअघि कोषले यसै कार्यक्रमका तीन लाखभन्दा बढी सहभागीहरूलाई २०७७ असारको नाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो । त्यसैगरी कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १.५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ ।

यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिने कोषले जनाएको छ । सो अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको छ ।

कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफल राख्ने व्यवस्था कोषले गरेको छ । यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपियाँ र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपियाँ गरी ५१ करोड १२ लाख रुपियाँ प्रदान गर्नुपर्ने हुन आउने कोषले जनाएको छ ।