काठमाडौं, असार २८ गते । सङ्घीय संसद्अन्तर्गत बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ ।
बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘‘नेपाल नागरिकता (पहिलो संशोधन), २०७९’’ पेश गर्ने उल्लेख छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु प्रेम सुवाल, शेरबहादुर तामाङ र डा. भीमबहादुर रावलले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने जानकारी दिनुभयो ।
यसैगरी, सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभाको सन्देशसहित ‘‘नेपाल रेल्वे विधेयक, २०७९’’ माथि प्राप्त बाँकी संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।