काठमाडौं, असार २८ गते । नेकपा (माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरुको अन्त्य हुन नसकेको बताउनुभएको छ ।
मङ्गलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद पोखरेलले देशमा ठूलो राजनीतिक परिवर्तन भएपनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरुको अन्त्य हुन नसकेको बताउनुभएको हो ।
उहाँले अझै पनि दलित समुदायलाई अपमान गर्ने संस्कार समाजमा रहेको भन्दै त्यस्तो संस्कारगत चेतनालाई बदल्न राज्यले प्रभावकारी अभियान चलाउनुपर्ने बताउनुभयो ।
सांसद पोखरेलले निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने र दलितको प्रतिस्पर्धा दलितसँग मात्रै हुने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
दलित समुदायभित्रै भएका विभेदहरुको पनि अन्त्य हुनुपर्नेमा सांसद पोखरेलले जोड दिनुभयो । उहाँले विद्यालयका पाठ्यक्रमहरुले पनि रुढिवादी र अन्धविश्वासका कुरा सिकाइरहेको भन्दै पाठ्यक्रम दलित समुदायमैत्री हुनुपर्ने बताउनुभयो ।