काठमाडौं, असार २८ गते । सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार काम सम्पन्न हुन नसक्दा अझै पनि नागरिकले अनाहकमा मृत्युवरण गर्न परिरहेको छ ।
गतवर्ष महाकाली नदी तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकालीमा खसेर बेपत्ता हुनुभएको घटना एक वर्ष पुग्न लागेको छ । तर, नदी पार गर्ने क्रममा तुइनबाट खस्ने क्रम अझै रोकिएको छैन ।
तुइनबाट खसेर नागरिकको ज्यान गएका विषयमा सदनदेखि सडकसम्म चर्को आवाज उठ्ने गरेको छ । राष्ट्रियसभाको मङ्गलबारको बैठकको शून्य समयमा सांसद इन्दु कडरियाले तुइन चुँडिएर नागरिकले मृत्युवरण गर्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
गत बुधबार मात्रै व्यास गाउँपलिका–२ तुम्लिङका १८ वर्षीय सञ्जीव बुढाथोकी भारतबाट तुइन तरेर नेपाल फर्कने क्रममा महाकाली नदीमा बेपत्ता हुनुभएको उहाँले सदनलाई जानकारी गराउनुभयो । अहिलेसम्म महाकाली नदीको दार्चुला क्षेत्रमा मात्रै तुइनबाट खसेर २६ जनाले ज्यान गुमाइसकेको उहाँको भनाइ छ ।
तुइनलाई विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने सरकारको योजना भए पनि केही स्थानमा मात्र तुइन हटाएर झोलुङ्गे पुल निर्माण भएको सांसद कडरियाले बताउनुभयो । “वर्तमान सरकारले तुइन विस्थापित गर्ने योजनालाई निरन्तरता नदिएका कारण अत्यावश्यक स्थानमा तुइन हटेर झोलुङ्गे पुल निर्माण हुन सकेका छैनन्”, उहाँले भन्नुभयो, “सोही कारण तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ।”
महाकालीमा मात्र तुइन विस्थापित गरी ११ स्थानमा पुल निर्माण गर्नुपर्ने कार्ययोजना भए पनि सात ठाउँमा निर्माण कार्य सुरु हुन नसकेको भन्दै उहाँले त्यस्ता ठाउँमा तत्काल पुल निर्माण गरेर जनताको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद खिमलाल देवकाटाले ललितपुरको भैँसेपाटीमा छ वर्षदेखि अलपत्र अवस्थामा रहेको ५०० मिटर सडक निर्माण गर्न आफूँले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि सुनुवाइ नै नभएको र मुलुकमा सरकार छ भन्ने अनुभूति नै नभएको बताउनुभयो । सांसद दिलकुमारी रावल थापा (पार्वती)ले मुलुकको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयमा भइरहेको बेथितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अनिता देवकोटाले सङ्घीयासँगै जनताले शान्ति, विकास र समृद्धिको अपेक्षा लिएको भए पनि जनअपेक्षाअनुसार काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रकाश पन्थले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घा उपेक्षामा परिरहेको र यसले अपेक्षाकृत फड्को मार्न नसकेको हुँदा यसतर्फ सरकारको प्राथमिकता र ध्यान दिनु जरुरी छ भन्नुभयो । “आदिकविको जन्मस्थल आन्तरिक तथा बाह्य सांस्कृतिक पर्यटकको प्रचुर सम्भावना भएको पर्यटकीय स्थल हो, यसको विकासमा सरकारकाले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।
सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोकको तातोपानी नाका जोडिएर कोदारी राजमार्गमा रहेको साँधी खोलामा निर्माणाधीन पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेमा साढे दुई वर्ष बितिसक्दा पनि करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको भन्दै तत्काल निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो । 
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                