काठमाडौँ, पुस २० गते । नेपालको सर्वोच्च क्रिकेट संस्था नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ को सुरुवात भएलगत्तै वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले पछिल्ला तीन वर्षदेखि वार्षिक क्यालेन्डर बनाउने मात्र होइन ती कार्यक्रमलाई कार्यान्वयन पनि गरेर क्रिकेटलाई अगाडि बढाइरहेको छ । नेपालका प्रायः खेलकुद सङ्घले यस्तो परिपाटीअगाडि नबढाएको र क्यालेन्डर बनाए पनि कार्यान्वयन नगर्ने स्थितिबिच क्यानको यो कार्यलाई सराहनीय मान्नु पर्छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले धेरै गृहकार्यपछि वार्षिक क्यालेन्डर तयार पारेको बताउनुभयो । उहाँले वर्षभरि क्रिकेटसँग जोडिन सक्ने जिल्ला, प्रदेश र सरोकारवालालाई योजना बनाउन सजिलो होस् भन्नका लागि वार्षिक क्यालेन्डर तयार पारिएको र क्यानले सबै पक्षलाई समेट्न चाहेको छ भन्नुभयो ।
यसै वर्ष टी–२० विश्वकप
कुनै पनि देशको क्रिकेटको स्तर जाँच्ने माध्यम भनेकै राष्ट्रिय टिमको प्रदर्शन हो । पछिल्ला केही वर्षमा नेपालको राष्ट्रिय टिमले लगातार खेल्ने अवसर पनि पाइरहेको छ । यस वर्ष पनि नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय क्यालेन्डर व्यस्त छ । राष्ट्रिय पुरुष टिमले यस वर्ष बहुप्रतिक्षित टी–२० विश्वकप खेल्दै छ । नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो । भारत र श्रीलङ्काममा संयुक्तमा रूपमा हुने विश्वकप यही फेब्रुअरी ७ देखि ८ मार्चसम्म हुने छ । नेपाल समूह सीमा रहेको छ । सो समूहमा दुई पटकको विजेता टिमहरू इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र बङ्गलादेश पनि रहेका छन् ।
यसै गरी मार्चमा नेपालले ओमान र संयुक्त अरब इमिरेट्स सम्मिलित आइसिसी क्रिकेट विश्वकप लिग २ घरेलु मैदानमा खेल्ने छ । यस वर्ष नेपालले लिग २ अन्तर्गत चार शृङ्खला खेल्ने छ । मे महिनामै घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्यान्डबिच पनि लिग २ को शृङ्खला हुने छ । त्यसपछि नेपाल लिग २ मा सहभागी हुन जुलाईमा नेदरल्यान्ड्स र अक्टोबरमा ओमान जाने छ । नेदरल्यान्ड्समा नामिबिया र ओमानमा क्यानाडाको पनि सहभागिता रहने छ ।
क्यानका सचिव पारसले घरमा हुने लिग २ को शृङ्खलाअघि अन्तर्राष्ट्रिय टिमसँग नेपालका ‘ए’ टिमसँग खेल्ने वातावरण बनाएको छौँ, भन्नुभयो । सचिव पारसले ‘ए’ टिमलाई बढीभन्दा बढी एक्सपोजर दिने सोचाइले अप्रिल र मे महिनामा होम एन्ड हवेको ‘ए’ सिरिजको प्रस्ताव गरिएको पनि बताउनुभयो । यसैगरी मे महिनामा नेपालले लिग २ शृङ्खलापछि चार अथवा तीन देशबिच टी–२० आई शृङ्खला आयोजना गर्ने प्रस्ताव पनि गरिएको छ । जुनमा पनि नेपाल द्विपक्षीय टी–२० शृङ्खलामा सहभागी हुने छ ।
अगस्टमा एसिसी प्रिमियर कप हुने छ । सोही महिना नेपालले कुवतेसँग द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने छ । सचिव पारसका अनुसार क्यानले कुवेत र युएईसँग द्विपक्षीय शृङ्खलाका लागि सम्झौता गरेको छ । नेपालले यस वर्ष पनि अस्ट्रेलियामा हुने टप एन्ड सिरिजमा सहभागिता जनाउने बताइएको छ । नेपालले वर्षको अन्तिम महिनामा पनि होम एन्ड अवेको अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने छ ।
यस वर्ष नेपाल टेस्ट राष्ट्रसँग द्विपक्षीय एकदिवसीय शृङ्खलामा सहभागी हुने छ । सचिव पारसले नेपालले टेस्ट राष्ट्रसँग खेल्नु पर्छ भन्ने सबैको चासो अनुरूप क्यानले दुई टेस्ट राष्ट्रलाई बोलाउने र खेलाउने योजना रहेको बताउनुभयो ।
नेपालमै महिला विश्वकप क्वालिफायर
सन् २०२६ को सुरुवातमै नेपालले आइसिसी महिला टी–२० विश्वकप क्वालिफायर घरमै खेल्ने छ । नेपालले आयोजना गर्न लागेको आइसिसीको यो सबभन्दा ठुलो प्रतियोगिता हो । सो प्रतियोगिता जनवरी १२ देखि फेब्रुअरी १ सम्म हुँदै छ । महिला टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाली महिला क्रिकेट टिम अहिले बन्द शिविरमा रहेको छ । नेपालले गत जेठमा थाइल्यान्डमा भएको एसिया छनोट पारेर गरेर नेपालले महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेर इतिहास बनाएको थियो ।
ग्लोबल छनोटमा नेपाललगायत आयरल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स, थाइल्यान्ड, अमेरिका, जिम्बाब्वे, बङ्गलादेश, नामिबिया र पपुआ न्युगिनी सहभागी छन् । यीमध्ये शीर्ष स्थानमा रहने चार टिम टी–२० महिला विश्वकपको अर्को संस्करणमा चयन हुने छन् । शीर्ष चारमा रहन सकेमा नेपालको महिला टिमले पहिलो पटक टी–२० विश्वकप खेल्ने छ । यसै वर्ष जुनमा बेलायतमा महिला टी–२० विश्वकप हुँदै छ । त्यसैले पनि नेपालका लागि यो प्रतियोगिता निकै महìवपूर्ण छ ।
अप्रिलमा कुवेत र सेप्टेम्बरमा युएईसँग महिला टिमले दिपक्षीय शृङ्खला खेल्ने छ । जुलाईमा महिला एसिया कप पनि हुने छ । यसबाहेक महिला टिमका लागि प्रिमियर कप र अन्य द्विपक्षीय अन्तर्राष्ट्रिय शृङ्खला पनि प्रस्ताव गरिएको छ ।
यु–१९ महिला र स्कुल क्रिकेटमा ‘फोकस’
क्यानले उमेर समूहमा ध्यान केन्द्रित गरेको छ । क्यानका सचिव पारसले महिला यु–१९ लाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो । मार्चमा नेपाल यु–१९ टिमले भुटानमा खेल्ने छ । अप्रिलमा तीन देशीय यु–१९ महिला क्रिकेट शृङ्खला नेपालमै आयोजना हुने छ । दुई महिनापछि नेपालको यु–१९ महिला टिमले मलेसियाको भ्रमण गर्ने छ । यु–१९ लाई बलियो बनाउन गल्र्स यु–१९ राष्ट्रिय च्याम्पियनसिपको आयोजना गरिने छ । नेपालका यु–१९ महिला टिमलाई सिनियर टिमका प्रशिक्षक हर्षल जयन्त पाठकले नै प्रशिक्षण दिनुहुने छ ।
एसिसी पुरुष यु–१९ प्रिमियर कपको प्रस्ताव पनि गरिएको छ । यसअघि जुलाईमा एसिसी यु–१६ इस्ट जोन कप हुने छ । यसका लागि टिम बनाउन क्यानले स्कुल क्रिकेटमा ध्यान दिएको छ । सचिव पारसले भन्नुभयो, “नेसनल स्कुल च्याम्पियनसिप पछिल्लो वर्ष सुरु गरेका थियौँ तर कार्यान्वयन हुन सकेको थिएन । यसपालि ग्रास रुटलाई बलियो बनाउन स्कुललाई जिल्ला, प्रदेश गरी केन्द्रमै राष्ट्रिय स्कुल च्याम्पियनसिपको सुरुवात हुने छ । जसले इस्ट जोनमा टिम तयार पार्न सहयोग पुग्ने छ ।
घरेलु क्रिकेट चलायमान
राष्ट्रिय टिमका खेलाडीबाहेक अन्य खेलाडी पनि व्यस्त राख्ने उद्देश्यले क्यानले वार्षिक क्यालेन्डर बनाएको छ । घरेलु क्यालेन्डर सुरुवात पिएमबाट हुने छ । जिल्ला, प्रदेश र केन्द्रको स्तरमा पुरुष र महिला पिएम कप हुने छ दुई दिवसीय जय ट्रफीले यस वर्ष निरन्तरता पाएको छ । उत्कृष्ट खेलाडीलाई समेटेर क्यान युथ कप आयोजना गरिने बताइएको छ । वाईवाई यु–१९ राष्ट्रिय क्रिकेट, राष्ट्रिय टी–२०, महिला यु–१९ क्रिकेट, राष्ट्रिय स्कुल च्याम्पियनसिप र तेस्रो नेपाल प्रिमियर लिग यस वर्ष आयोजना हुने प्रमुख घरेलु प्रतियोगिता हुन् ।
पारसले जिल्ला, प्रदेश र निजी क्षेत्रले राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताको आयोजना गर्न सकिने बताउनुभएको छ । निजी क्षेत्रले जिल्लासँग स्वीकृति लिएर समन्वय गरेर क्यानलाई जानकारी दिएर प्रतियोगिता गर्न सक्छ, उहाँले भन्नुभयो ।