• १३ साउन २०८१, आइतबार

नेपालले जुनसुकै मुलुकबाट सहयोग लिन सक्छ : लिउ

blog

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले सोमबार भेट गर्नुहुँदै । तस्बिर : रासस

गोरखापत्र समाचारदाता

ललितपुर, असार २८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले सोमबार भेट गर्नुभएको छ ।ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा उहाँहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा माओवादी केन्द्रका नेताहरू वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन र पम्फा भुसालको पनि सहभागिता रहेको थियो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार नेता लिउ पछिल्लो समयमा सार्वजनिक भएका अन्तर्राष्ट्रिय सहयोगका विभिन्न मुद्दामा नेपाली राजनीतिक दलहरूको धारणा बुझ्न नेपाल आउनुभएको हो । सोमबार भएको भेटमा नेता लिउले नेपालले आफ्नो विकास र उन्नतिका लागि विश्वका जुनसुकै मुलुकसँग सहयोग लिन सक्ने बताउनुभयो । 

नेपाल चीनको असल मित्र रहेको भन्दै उहाँले नेपालको भू–भाग प्रयोग गरेर कुनै पनि मुलुकले चीनविरोधी गतिविधि नगरोस् भन्नेमा मात्र आफूहरूको चासो रहेको बताउनुभयो । नेता लिउले चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नाबारे आफैँले निर्णय गर्दा नै सफल भएको उदाहरण दिँदै नेपालका कम्युनिस्ट पार्टीहरूलाई पनि आफ्नाबारे आफैँले निर्णय गर्न सक्ने क्षमता विकास गर्न सुझाउनुभयो । 

करिब डेढ घण्टा लामो छलफलमा प्रचण्डले चीनको चासोप्रति आफूहरु जानकार रहेको बताउनु हुँदै नेपालमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाएको थियो । दुई देशका कम्युनिस्ट पार्टीहरूको वैचारिक राजनीतिक सम्बन्धका साथै भ्रातृत्व सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

बीपीबारे जानकारी

यसैबीच चिनियाँ पाहुना लिउले सोमबार सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयको भ्रमण गरी बीपी कोइरालाले जेलजीवनमा भोगेका अनुभव तथा उहाँको जीवनीसँग जोडिएका विविध पक्षबारे जानकारी लिनुभयो । सङ्ग्रहालयका अध्यक्ष पर्शुराम पोखरेलका अनुसार सङ्ग्रहालयमा बीपी र चिनियाँ नेताहरू माओत्सेतुङ तथा चीनका प्रथम प्रधानमन्त्री चाउ एन लाईबीच भएका छलफल र त्यस समयमा खिचिएका तस्बिर देखेर उहाँले अनौठो मान्नुभएको थियो । सङ्ग्रहालय अवलोकनमा झन्डै एक घण्टा बिताउनुभएका लिउले नेपाल र चीनबीचको तत्कालीन सम्बन्ध स्थापित गर्न बीपी र चिनियाँ नेताबीचको कामबारे समेत चासो व्यक्त गर्नुभएको थियो । 

‘स्माइलिङ चिल्ड्रेन’ परियोजना सुरु सोमबारै ऊर्जा, जलस्रोत सिँचाइमन्त्री पम्फा भुसाल र लिउले संयुक्त रूपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना सुरु गर्नुभएको छ । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उहाँहरूले सो परियोजनाको सुरु गर्नुभएको हो ।

त्यस अवसरमा मन्त्री भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो । सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल चीनको असल छिमेकी भएको बताउँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरमा थप विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले ग्लोबल डेभलपमेन्ट तथा साउथ–साउथ कोपरेसन फन्डमार्फत नेपालको शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना नेपालका ३५ स्कुलमा लागूू भएको सो अवसरमा जानकारी दिनुभयो ।