• ११ असोज २०८१, शुक्रबार

राखेपद्वारा पलेशा र प्रिन्ससहित १३ खेलाडी पुरस्कृत

blog

राखेपद्वारा पुरस्कृत खेलाडीहरु । तस्बिर सौजन्य : राखेप

काठमाडौं, असार २७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । राखेपले पारा तेक्वान्दोका चार, ब्याडमिन्टन र भलिबलका एक एक, बक्सिङका तीन, एथलेटिक्सका र ट्रायथलनका दुई दुई गरी १३ जना खेलाडीलाई १० लाख ५० हजार रुपियाँ पुरस्कार सहित सम्मान गरेको हो । 

राखेपले पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबद्र्धन र ब्याडमिन्टनका प्रिन्स दाहाललाई जनही एक लाख ५० हजार रुपियाँ पुरस्कारसहित सम्मान गरेको हो । पलेसाले टोकियो पारा ओलम्पिकमा २ ‘बाउट’ जितेर इतिहास रच्नुका साथै एसियाली युथ पारा गेम्समा स्वर्ण जित्नुभएको थियो । यसैगरी हाल विश्व जुनियर वरीयताको सातौं स्थानमा आसिन प्रिन्स केही महिनाअघि शीर्ष वरीयतामा हुनुहुन्थ्यो । 

राखेपले बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सिर्जना घिसिङलाई जनही एक लाख, एथलेटिक्सकी राजपुरा पछाईं र पुष्पा भणडारी, ट्रायथलनका सोनी गुरुङ र बसन्त थारु, पारा तेक्वान्दोका रञ्जना धामी र विशाल गर्बुजा तथा महिला भलिबल कप्तान अरुणा शाहीलाई जनही ५० हजार रुपियाँबाट पुरस्कृत गरेको छ । 

खेलाडीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, कार्यक्रम संयोजक एवं राखेपकी सदस्य चन्द्र बदना राईलगायतले पुरस्कार प्रदान गर्नुभयो ।