• ८ जेठ २०८१, मङ्गलबार

भान्सा चलाउनै कठिन

blog

काठमाडौँको कालिमाटी तरकारी बजार । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, असार २७ गते  ।“आम्दानी बढेको छैन, महँगी भने दिनदिनै बढेको बढ्यै छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो,” यो भनाइ कालीमाटी तरकारी बजारमा भेटिनुभएका विकास अधिकारीको हो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टर्दैन, तेल, नुन, मसलाको खर्च छुट्टै छ । दैनिक पाँच सय रुपियाँ कमाउनेले एक छाकको तरकारीका लागि एक सय रुपियाँ कसरी खर्च गर्न सक्छ ?” उहाँले प्रश्न गर्नुभयो । उहाँ कलङ्कीको एक डिपार्टमेन्ट स्टोरमा सुरक्षा गार्डका रूपमा कार्यरत हुनुहुन्छ । मासिक १५ हजार रुपियाँको तलबले चार जनाको परिवारलाई दाल र भात मात्रै खान पनि गाह्रो छ । 

कालीमाटी तरकारी बजारमै भेटिनुभएकी करुणा कक्षपतिको भनाइ पनि उस्तै छ । “थोरै र सीमित आय भएकालाई मात्रै होइन, राम्रै आम्दानी भएकालाई पनि भान्सा चलाउन गाह्रो छ,” उहाँले सुुनाउनुभयो । महँगो भएको वस्तु घट्ने सम्भावना नभएको उहाँको अनुभव छ ।

तरकारी व्यापार गर्ने कविता कार्कीको दुखेसो बेग्लै छ, महँगो मूल्य तिरेर ल्याएको तरकारीको बिक्री कम हुन्छ । उहाँले भन्नुभयो, “भाउ भन्नेबित्तिकै उपभोक्ताले नाक खुम्च्याउँछन्, सधैँ एक केजी किन्नेले आधा केजी र पाउमा किन्छन् ।” दाल, चामल, तेलको पनि भाउ बढेकाले बाँच्न कठिन भएको उहाँको अनुभव छ । 

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले तरकारीको भाउमा दिनदिनै उतारचढाव आइरहेको बताउनुभयो । शनिबारको तुलनामा आइतबार बजारमा तुलनात्मक रूपमा बढी तरकारी भित्रिएर केही सस्तो भए पनि खुद्रामा किन्ने उपभोक्ताले त्यो महसुस गर्न सक्ने अवस्था नरहेको उहाँले स्वीकार गर्नुभयो । 

उहाँले थप्नुभयो, “बर्खामा तरकारी छिट्टै कुहिने, एक दिन बासी रह्यो भने आधाजति फ्याँक्नुपर्ने र ढुवानी भाडा पनि महँगो भएका कारण सस्तो हुन नसकेको हो । बर्खाको बेलामा तरकारीमा विगतमा पनि उतारचढाव आउने गरेको थियो ।” आचार्यका अनुसार पछिल्लो पटक आलु, गोलभेँडाको भाउ उच्चदरमा वृद्धि भएको छ भने अरू मौसमी तरकारीको भाउ पनि बढिरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार बजारमा सात सय मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिएको छ । शनिबार भने पाँच मेट्रिक टनभन्दा कम तरकारी आएको थियो । सामान्य अवस्थामा बजारमा एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गरेको समितिले जनाएको छ । समितिका निर्देशक विनय श्रेष्ठले बर्खामा तरकारीको भाउ बढ्नु स्वाभाविक भएको स्वीकार गर्नुभयो । 

बजारमा भित्रिने अधिकांश तरकारी काठमाडौँबाहिरबाट ल्याउनुपर्ने र लगातारको वर्षाले ठाउँठाउँमा सडक अवरुद्ध हुँदा समयमा बजार आइनपुग्दा कुहिने, सड्नेलगायतका कारण पनि तरकारीको भाउ तुलनात्मक रूपमा महँगो भएको छ ।समितिका अनुसार यो बेलामा कालीमाटी बजारमा अधिकांश तराईका जिल्ला, चितवन, धादिङ, मकवानपुर, काभ्रे, नुवाकोटलगायतका विभिन्न ठाउँबाट तरकारी आउँछ । यो बेलामा आलु ६० प्रतिशत र प्याज ९९ प्रतिशत भारतबाट आउने गरेको छ । 

नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको १० महिना (वैशाख)मा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ७ दशमलव १३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ८ दशमलव ४५ प्रतिशत रहेको छ । २०७८ वैशाखको तुलनामा यो वैशाखमा तरकारी र फलफूलको १२ दशमलव ६१ मूल्य वृद्धि भएको बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।