• ९ पुस २०८२, बुधबार

वन्यजन्तु उपहार संरक्षणमा चुनौती

blog

हात्तीलाई सौराहामा बिदाइ गर्दाको क्षण । फाइल तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली

नारायणगढ (चितवन), पुस ९ गते  । नेपाल सरकारले मित्रराष्ट्र कतारलाई एक जोडी हात्ती उपहार दिएको छ । पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा जन्मिएको छ वर्षको खगेन्द्रप्रसाद र प्रजनन केन्द्रमा जन्मिएकी छ वर्षकै रुद्रकलीलाई बुधबार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको चार्टर्ड फ्लाइटमार्फत कतार लगिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीलाई एक कार्यक्रमबिच बसोबास स्थलबाट माला लगाएर धुमधामका साथ सोमबार बिदाइ गरिएको थियो । विसं २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिमबिनहमाद अलथानी नेपालको औपचारिक भ्रमणमा आएका बेला एक जोडी हात्ती उपहार दिने नेपाल सरकारले प्रतिबद्धता जनाएको थियो । 

नेपालले साइटिसलगायत प्रव्रिmया पूरा गरी २०८१ कात्तिक २ गते मन्त्रीपरिषद्बाट एक जोडी हात्ती कतारलाई उपहारस्वरूप प्रदान गर्ने निर्णय भएको थियो । सोही अनुसार कानुनी र प्राविधिक प्रव्रिmयाका कारण सम्झौताको म्यादभन्दा ढिला गरी हात्तीलाई कतार पठाइएको हो । हात्ती लोपोन्मुख वन्यजन्तु अन्तर्गत पर्छ । 

‘वन्यजन्तु कूटनीति’ मार्फत यस्ता वन्यजन्तु मित्रराष्ट्रलाई उपहार दिएको यो पहिलो घटना भने होइन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा रहेको तथ्याङ्क अनुसार अहिलेसम्म नेपालले विभिन्न देशलाई ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ । १२० वटा घडियाल र मगर गोहीका अन्डासमेत उपहार दिएको छ । सरकारले हालसम्म चीन, भारत, अमेरिका, जर्मनी, बङ्गलादेश, बेलायत, जापान, अस्ट्रियालगायतका देशलाई २६ वटा गैँडा उपहार दिइसकेको छ । नेपालले पहिलो पटक सन् १९८५ मा विदेशी राष्ट्रलाई गैँडा उपहार दिएको थियो । 

वन्यजन्तुविद् डा. बाबुराम लामिछाने यसरी मित्रराष्ट्रलाई वन्यजन्तु उपहार दिँदा तथा वन्यजन्तुको ओसारपसार गर्दा ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) पालना गर्नुपर्ने बताउनुहुन्छ । “अहिले पठाइएका हात्तीका हकमा त साइटिसका सबै प्रव्रिmया पूरा गरेर पठाइएको छ तर चितवनको जङ्गलमा जन्मेर हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकली अब मरुभूमिको देश कतारमा नयाँ जीवन सुरु गर्दैगर्दा त्यहाँको हावापानीसँग जुधेर बस्न सक्छन् कि सक्दैन भन्ने चिन्ता संरक्षणकर्मीमा बढेको छ ।” 

वन्यजन्तु उपहार दिने प्रचलनले मित्रतासँगै संरक्षणको सन्देश दिन खोजिए पनि नयाँ वासस्थानका बारेमा पनि समीक्षा हुनुपर्ने उहाँले बताउनुभयो । “कतार बढी तापव्रmम भएको मुलुक हो । हात्तीको बाक्लो छालाले बढी तापक्रम थेग्न सक्दैन भन्ने सन्देश दिन्छ । अब त्यसलाई राखिने घरमा तापक्रमको सन्तुलन  मिलाइन्छ कि मिलाइँदैन भन्नेमा ध्यान दिनु पर्छ,” उहाँले भन्नुभयो । 

हात्तीसम्बन्धी विद्यावारिधि गरेकी कोओटा युनिभर्सिटी (भारत) की सहप्राध्यापक सन्जिता शर्मा पोख्रेल प्राकृतिक स्थानबाट वन्यजन्तुलाई अन्यत्र ओसारपसार गर्नु गलत भएको टिप्पणी गर्नुहुन्छ । “कुनै पनि वन्यजन्तुको अस्तित्व बुझ्न जरुरी छ । जनावरलाई मान्छे जस्तै सोचेर मूल्याङ्कन गरौँ । प्राकृतिक स्थानबाट बनावटी कृत्रिम स्थानमा बसाइँ सर्दा कति समस्या आउँछन् भन्ने ख्याल गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो । अझै हावापानी र मौसमको सन्तुलन नमिल्ने देशमा वन्यजन्तु पठाइँदा त्यसले जनावरलाई असर गर्ने उहाँको तर्क छ । 

एक समयमा भारतलाई चार वटा गैँडा उपहार दिएर १९ वटा हात्ती ल्याएर हात्ती प्रजनन केन्द्र स्थापना गरिएको थियो । अहिले नेपालमा भएका ७२ वटा निजी घरपालुवा हात्ती त्यसकै उत्पादन हुन् । नेपालमा थप जङ्गली हात्ती करिब ६५ वटाको हाराहारीमा रहेको अनुमान छ । विश्व वन्यजन्तु कोषका वरिष्ठ सल्लाहकार शिवराज भट्ट हात्ती, बाघ, गैँडा जस्ता जनावर बढेका बेला मित्रराष्ट्रलाई उपहार दिनु दुई देशको सम्बन्ध सुधारमा महìवपूर्ण कदम हुने बताउनुहुन्छ । 

लामो समय वन्यजन्तु संरक्षणमा व्रिmयाशील नेपाली सेनाका पूर्वजर्नेल बाबुकृष्ण कार्की नेपालले चीनलाई दिइएको गैँडा ‘एयर कन्डिसन’ मा राखे जस्तै कतारले लगेका हात्तीलाई पनि उस्तै गरी वातावरण सन्तुलन मिलाएर राख्नुपर्ने सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालको कूटनीतिमा भ्वाङ परिरहेका बेला वन्यजन्तु कूटनीतिले त्यो भ्वाङ टाल्ने प्रयास गरिनु राम्रो कदम हो । राणा कालमा भन्दा राजतन्त्रमा र राजतन्त्रमा भन्दा लोकतन्त्र वा गणतन्त्रमा वन्यजन्तु कम उपहार दिइएका छन् । यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न सक्नु पर्छ ।”