तानसेन समाचारदाता
तानसेन, पुस ९ गते । एसइईको नतिजा सुधारका लागि पाल्पाको तिनाउ गाउँपालिकाले विद्यार्थीलाई विद्यालयमै बासको व्यवस्था गरेको छ । एसइईको नतिजा खस्केपछि गाउँपालिकाले नतिजा सुधारका लागि विद्यार्थीलाई विद्यालयमै बासको व्यवस्था गरेर पठनपाठनको व्यवस्था मिलाएको हो ।
यो वर्ष गाउँपालिकाभित्रका नौ वटा माध्यमिक विद्यालयका २३४ जना विद्यार्थीका लागि अस्थायी छात्रावास सञ्चालन गरिएको पालिकाले जनाएको छ । विद्यालयमै बस्ने र खाने सुविधा भएपछि आगामी चैतमा एसइई परीक्षा दिने विद्यार्थीलाई साँझबिहान अतिरिक्त कक्षा लिन सहज भएको छ । एसइईको नतिजा सुधारका लागि पालिकाले विद्यार्थीका लागि आवश्यक खाना खर्च दिएको छ ।
यस्तै बसाइ व्यवस्थापनका लागि लत्ताकपडा तथा अन्य जिन्सी सामग्री विद्यालयलाई प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले दुई वर्षअघिदेखि तिनाउमा नौ वटा विद्यालयमा एसइई परीक्षा आउनुभन्दा छ महिनाअघिदेखि छात्रावासमा बसेर पठनपाठनको व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “छात्रावास सञ्चालन भएपछि टाढाबाट पढ्न आउने विद्यार्थीले पढ्न समय पाएका छन् । घरमा नपढ्ने विद्यार्थीलाई पढ्ने बानी परेको छ । यसले नतिजामा समेत सुधार गरेको छ ।”
उहाँले विद्यालयमै छात्रावास सञ्चालन गरेपछि गत शैक्षिक सत्र २०८१ मा एसइईको नतिजामा सुधार भएको बताउनुभयो । अघिल्लो शैक्षिक सत्र २०८० मा २६६ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा जम्मा १२ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । छात्रावास सञ्चालन भएपछि गत शैक्षिक सत्रमा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ ।
छात्रावास सञ्चालनका लागि गत आव २०८१/८२ मा १९ लाख ७९ हजार छ सय रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारूले यो वर्ष पनि आवासीय व्यवस्थापनका लागि बजेट विनियोजन गरेको बताउनुभयो ।
गाउँपालिकाले तिनाउका विद्यालयमा स्थायी छात्रावास व्यवस्थाका लागि भवन निर्माण तथा अन्य पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेर काम आरम्भ गरेको अधिकृत सारूले बताउनुभयो । यस वर्ष पृथ्वीप्रकाश माविमा एक करोड २८ लाख रुपियाँमा छात्रावास भवन निर्माण भइरहेको छ । यस्तै मस्याम माविमा ५५ लाख, युवावर्ष मावि र ज्ञानोदय माविमा १५/१५ लाखका पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।
तिनाउले दुई वर्षअघिदेखि विद्यार्थी कम भएका विद्यालयको कक्षा घटुवा गरेर मस्याम माविमा स्थायी छात्रावास सञ्चालन गरिरहेको छ । कक्षा घटुवा गरेर छात्रावास सञ्चालन गरेपछि विद्यार्थीको पठनपाठनमा सहज भएको छ । तिनाउ गाउँपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले यसले शिक्षक व्यवस्थापनमा पनि सहयोग पुगेको बताउनुभयो ।