काठमाडौँ, पुस ४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनले अध्यक्ष पदमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । ओली एक हजार ६६३ मतसहित निर्वाचित हुनुभयो । उहाँका एक मात्र प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा ५६४ मत प्राप्त गर्नुभयो । महाधिवेशनमा दुई वटा समूहबाट प्रतिस्पर्धा हुँदा कुल १९ सदस्यीय पदाधिकारीमा ओलीको समूहका १७ जना र पोखरेलको समूहबाट दुई जना विजयी हुनुभएको हो । कुल विजयीमध्ये अधिकांश केन्द्रीय सदस्य ओली समूहबाट छन् ।
ओली समूहबाट उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, रघुजी पन्त र महासचिवमा शङ्कर पोखरेल विजयी हुनुभयो । उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ विजयी हुनुभयो । पोखरेल समूहबाट भने उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी हुनुभयो । सचिव पदमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल विजयी हुनुभयो । विजयी सबै सचिव ओली प्यानलका उम्मेदवार हुनुहुन्छ । अध्यक्षका निम्ति दुई जना, उपाध्यक्षका निम्ति ११ जना, महासचिवका निम्ति दुई जना, उपमहासचिवका निम्ति सात जना तथा सचिवका निम्ति २० जना मैदानमा उत्रिनुभएको थियो । महाधिवेशनले ३०१ जना केन्द्रीय सदस्य पनि चुनेको छ । ती पदका लागि ६२२ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा दुई हजार २६३ जना मतदाता रहे पनि ३६ जनाले मत नखसालेको निर्वाचन आयोगले उल्लेख गरेको छ ।
अध्यक्षमा ओलीको ‘ह्याट्रिक’
नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गर्नुभएको छ । उहाँले लगातार तेस्रो कार्यकाल पार्टी अध्यक्षमा निर्वाचित हुँदै ‘ह्याट्रिक’ पूरा गर्नुभयो । उहाँ २०७१ साउनयता निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ । २०७१ असारमा भृकुटीमण्डपमै भएको नवौँ महाधिवेशनमा ओलीले अध्यक्ष पदमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्नुभएको थियो । २०७८ भदौमा एमाले विभाजन भएपछि चितवनको सौराहामा भएको १० औँ महाधिवेशनमा ओलीले सर्वसम्मत अध्यक्ष बन्न चाहे पनि पूर्वउपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी दिनुभयो । त्यस महाधिवेशनमा ओली एक हजार ८३७ मत ल्याएर विजयी हुँदा रावलले २२३ मत प्राप्त गर्नुभएको थियो ।
पदाधिकारीमा नयाँ आठ जना
नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट आठ जना नयाँ सदस्यले पदाधिकारीमा प्रवेश पाउनुभएको हो । विजयी नयाँ पदाधिकारीमा उपाध्यक्ष रघुजी पन्त हुनुहुन्छ । त्यस्तै सचिवमा महेश बस्नेत, शेरधन राई, हिक्मत कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल पनि पदाधिकारी निर्वाचित नयाँ अनुहार हुनुहुन्छ । सचिवमा महेश बस्नेतले सबैभन्दा बढी १५४४ मत ल्याएर विजयी हुनुभयो ।
एक्लो महिला पदाधिकारी
सचिव पदमा उम्मेदवार बन्नुभएको पद्मा अर्याल दोस्रो लोकप्रिय मतका साथ विजयी हुनुभएको छ । १५३० मत ल्याएर उहाँ सचिवमा निर्वाचित हुनुभयो । निर्वाचित हुनुभएका १९ जना पदाधिकारीमा अर्याल एक्लो महिला हुनुहुन्छ ।