प्रवीण कुमार शर्मा
रौतहट, पुस ३ गते । रौतहट सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णयविरूद्ध उद्योग वाणिज्य संघ रौतहट आपत्ति जनाउँदै बिहिबार विरोध प्रदर्शन गरेका छन् ।
करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयको विरोधमा व्यापारीहरु करदाता कार्यालय अगाडि बिहिबार शान्तिपूर्ण रुपमा नाराबाजी गर्दै सरकारलाई ध्यानाकर्षण गराएको तथा आन्दोलनको थप कार्यक्रमहरू तय गर्ने उद्योग बाणिज्य संघ रौतहटका अध्यक्ष रबिन्द्र नाथ गोपालीले जानकारी दिनुभयो ।
करदाता सेवा कार्यालय खारेजीको विरोधमा स्थानीय उद्योगी, व्यापारीहरूले करदाता कार्यालय खारेजी गर्न पाईदैन, व्यापारीलाई दुख दिन पाईदैन, आन्तरिक राजश्व कार्यालय स्थापना गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
विरोध कार्यक्रममा आफ्नो कुरा राख्नु हुँदै उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष गोपालीले गौरमा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन रहेकोले खारेजीको औचित्य नरहेको बताउनुभयो ।
गौरका व्यापारी सन्तोष केशरीले आन्तरिक राजस्व कार्यालय सिमरा, बारामा रहेकोले यो कार्यालय खारेज भए व्यापारीहरुलाई खर्च बढने, टाढा हुने लगायतका झन्झट बढने भएकोले कार्यालय खारेजी गर्न नहुने बताउनुभयो ।
यसअघि उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष गोपालिको नेतृत्वमा ब्यापारीहरुले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर गौरबाट करदाता सेवा कार्यालय खारेज नगर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।