• १३ साउन २०८१, आइतबार

सुरक्षित प्रसूति सेवा लिने बढे

blog

रुकुमपश्चिम, असार २६ गते । स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउनेको सङ्ख्या रुकुमपश्चिममा वृद्धि भएको छ । अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई हजार ९५१ जना गर्भवती स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिएका छन् । 

जिल्ला स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा दक्ष प्रसूतिकर्मीको सहायतामा तीन जनाले घरमै सुत्केरी गराएका थिए । २०७७/७८ मा ११ जनाले घरमै सुत्केरी गराएका थिए । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा भने चार जनाले मात्रै घरमा सुत्केरी गराएको तथ्याङ्क छ । जनस्वास्थ्य निरीक्षक ओलीले आर्थिक वर्ष २०७६÷७७ मा दुई हजार ८६७ जनाले र २०७७/७८ मा तीन हजार ४६ जनाले स्वास्थ्य संस्थामा सुत्केरी गराएको बताउनुभयो । 

चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा भने दुई हजार ९५१ जनाले स्वास्थ्य सस्थामा आएर सुत्केरी गराएका छन् । जसमध्ये दुई हजार ६४७ सामान्य रूपमा, १८६ को शल्यक्रिया र ११८ जनाको भ्याकुम मेसिनमार्फत सुत्केरी गराइएको बताइएको छ । जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा शल्यक्रिया गर्ने सुविधा छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बर्थिङ सेन्टर थप हुँदा स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । जिल्लामा हालसम्म २० स्थानमा बर्थिङ सेन्टर रहेका छन् । गर्भवती महिला लक्षित कर्णाली पोषण भत्ता कार्यक्रम, गर्भवती जाँच खर्च, नियमित यातायात खर्चजस्ता कार्यक्रमको प्रभावले पनि स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालले पछिल्लो पटक भिडियो एक्स–रेसहितका केही सेवामा सहुलियत दिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न परिवारलगायतको अवस्था हेरेर स्वास्थ्य सेवामा छुट दिएको र उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको समेत अस्पतालले जनाएको छ ।