• २ पुस २०८२, बुधबार

लघुउद्यम, स्वास्थ्य र शिक्षामा सुधार गर्न ताराखोलावासीको माग

blog

ताराखोला गाउँपालिका बागलुङको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ । तस्बिरः अर्जुन कार्की ।

काठेखोला (बागलुङ), पुस २ गते । बागलुङको ताराखोला गाउँपालिकाका स्थानीयवासीले लघुउद्यम सञ्चालनमार्फत स्वरोजगार सिर्जना गर्न गाउँपालिकाले पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

ताराखोला गाउँपालिका–१ अमरभुमीमा सम्पन्न गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयहरुले स्वास्थ्य बिमा नवीकरणमा सहजकर्ताको अभाव, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नहुनु, विषयगत शिक्षक उपलब्ध गराउनुपर्ने, सडक कालोपत्रे गर्नुपर्ने लगायतका जिज्ञासा तथा गुनासो राखेका थिए ।

स्थानीय बलबहादुर रोकाले पूर्वजनप्रतिनिधिको कार्याकालमा शिलन्यास गरिएको आधारभूत अस्पताल अहिलेसम्म निर्माण हुन नसक्नुको कारण स्पष्ट पार्न माग गर्नुभएको थियो । उहाँले निर्माण सुरु भएर अलपत्र भएको औद्योगिकग्राम र यस वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना नहुनुको विषयमा प्रश्न उठाउनुभयो ।

स्थानीय रोकाले गाउँपालिकाभित्र सञ्चालित ढुङ्गाखानीबाट स्थानीयले रोजगार प्राप्त गरेपनि वातावरण र पर्यावरणको दीर्घकालीन जोखिमप्रति गाउँपालिका गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । रोकाले लघुउद्यमका लागि सिपमूलक तालिम र उद्यममैत्री वातावरण निर्माणको माग गर्नुभयो ।

शिक्षक रामकृष्ण चालिसेले विद्यार्थीहरुलाई विद्यालय आउन दुई घण्टाको यात्रा गर्नुपर्ने बताउँदै त्यसको अन्त्यका लागि पालिकाले झोलुङ्गे पुल वा अन्य व्यवस्थापन गर्न माग गर्नुभयो । “सिलेबाट भुस्कातस्ति जनप्रेम माध्यमिक विद्यालय आउने विद्यार्थीहरुले दैनिक दुई घण्टाको यात्रा गर्नुपर्ने बाध्यता छ । यसको समाधानमा पालिकाले ध्यान दिन आवश्यक छ,” चालिसेले भन्नुभयो, “अहिले गाउँमा गरिब विद्यार्थीहरु मात्र रहेकाले उनीहरुका लागि आवश्यक स्टेशनरीहरु पनि गाउँपालिकाले उपलब्ध गराउँदा विद्यार्थीहरुलाई सहज हुनेछ ।”

चालिसेले गाउँपालिकाले र वडाले विभिन्न संघसंस्था मार्फत विद्यालयहरुमा कम्युटरहरु उपलब्ध गराए पनि विषय शिक्षकको अभावले कम्प्युटर प्रयोगविहीन बनेको गुनासो गर्नुभयो ।

यसैगरी, कमलापति पाठकले पानीको संरक्षण गर्न तालहरु निर्माण गर्न माग गर्नुभयो । उहाँले सडक कालोपत्रे गर्न सुझाव दिनुभयो । यस्तै पूर्ण गुरुङले गाउँको यातायात भडादर समायोजन आवश्यक रहेको बताउनुभयो ।

यस्तै, टेकबहादुर पुन, हरिप्रसाद पाठक र दिपेन्द्र भण्डारी खानेपानीको व्यवस्थापन, पदमार्ग निर्माण र सडक सञ्जाल सहज बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले सिले–भुस्कात जोड्ने झोलुङ्गे पुल निर्माण गर्न तत्काल सम्पन्न नभए पनि कम दूरीको स्थानमा पुल निर्माण गर्न पहल भइरहेको बताउनुभयो । उहाँले आधारभूत अस्पतालका लागि शिलन्यास भएको भुगोलमा भवन निर्माण गर्न असहज हुने प्राविधिक रिपोर्ट आएकाले विचराधिन अवस्थामै रहेको बताउनुभयो । “पूर्वजनप्रतिनिधिहरुले शिलन्यास गरेको स्थानमा भवन निर्माण गर्न पछि भुगोलले साथ नदिने भएपछि निर्माण रोकिएको हो,” अध्यक्ष विकले भन्नुभयो,“आधारभूत अस्पताल निर्माण नभए पनि अर्गल स्वास्थ्य चौकी भवन निर्माणका लागि ठेक्का आह्वान  भइसकेको छ ।”
अध्यक्ष विकले चालु आर्थिक वर्षमा शहिदमार्ग अर्गल पालिका पुवा खोला सिले तथा वडा नम्बर ४ को वडाकार्यालय डोगाडी रानिबास पालिम फेदी हुँदै म्याग्दीको मालिका गाउँपालिका जोड्ने सडक कालोपत्रे हुने बताउनुभयो ।

उपाध्यक्ष भीमबहादुर रोकाले केन्द्र सरकारबाट बजेट नआएकाले यस वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न नसकिएको स्पष्ट पार्नुभयो । उहाँले यस वर्ष नेपाल माविको अगुवाइमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाएको समेत जानकारी दिनुभयो ।

उपाध्यक्ष रोकाले चालु आर्थिक वर्षमा स्वास्थ्य बिमाको सहजकर्ताका लागि कर्मचारी आव्हान गरिएको बताउँदै चाडै समस्या समाधान हुने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रिजालले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रथम चौमासिकमा १७ लाख २२ हजार ६ सय ३४ रुपियाँ राजश्व सङ्कलन भएको बताउनुभयो । उहाँले गाउँपालिकाको ४१ करोड २५ लाख ९८ हजार ३७० रुपियाँ बजेट रहेकोमा प्रथम चौमासिकसम्म पाँच करोड २८ लाख पाँच हजार नौ सय ७८ रुपियाँ खर्च भइसकेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रिजालले चालु खर्च पाँच करोड आठ लाख पाँच हजार नौ सय ७८ रुपियाँ र पुँजिगत खर्च २० लाख रुपियाँ रहेको बताउनुभयो । उहाँले गाउँपालिकाका अधिकांश योजनाहरु सम्झौताको चरणमा रहेको बताउनुभयो । ताराखोला गाउँपालिकाको आयोजना तथा ताराखोला मिडिया प्रालिको सहजिकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।