गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २ गते । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीका लागि बृहत् अवसर रहेको बताउनुभएको छ ।
नेपाल–चीन लगानीसम्बन्धी काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सडक, औद्योगिकलगायतका क्षेत्रमा लगानीका लागि धेरै सम्भावना रहेको र बजारका हिसाबले नेपाल दक्षिण एसियाको गेटवे बन्न सक्ने धारणा राख्नुभयो । नेपालमा थप लगानी गर्न चिनियाँ लगानीकर्तालाई उहाँले आग्रह गर्नुभएको छ ।
चाइनिज जनरल एसोसियसन अफ इन्डस्ट्रिज एन्ड कमर्स इन नेपाल र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो ।
उहाँले लगानीका लागि नेपाल आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै उहाँले रोजगारी सिर्जना गर्न र दीर्घकालीन साझेदारी निर्माणका लागि पनि चिनियाँ लगानीले सहयोग पुग्ने विचार व्यक्त गर्नुभएको थियो । वैदेशिक लगानीलाई थप सहजीकरण गर्न लगानी बोर्डले एकद्वार सेवा केन्द्र, परियोजना प्रस्तावको द्रुत स्वीकृति, संस्थागत सुदृढीकरण, नीतिगत सुधारलगायतलाई विशेष जोड दिएको उहाँले स्पष्ट पार्नुभयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपाललाई भरपर्दो, प्रतिस्पर्धी र नवप्रवर्तनमा आधारित लगानी गन्तव्यका रूपमा स्थापित गर्नका लागि लगानी बोर्डले काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले लगानीका लागि सहजीकरण गर्न र आयोजना कार्यान्वयनका क्रममा आइपर्ने समस्यालाई समाधान गर्न लगानी बोर्डले अभिभावकको भूमिका निर्वाह गर्ने पनि बताउनुभएको थियो । कार्यक्रममा कृषि, उद्योग, सूचना प्रविधि, निर्माण क्षेत्र, पर्यटनलगायतका क्षेत्रमा अनुभव प्राप्त चिनियाँ लगानीकर्ताको सहभागिता थियो ।