• २ पुस २०८२, बुधबार

सुक्खायाममा विद्युत् आपूर्ति सुनिश्चित गर्न उद्योगीको माग

blog

विराटनगर समाचारदाता

विराटनगर, पुस २ गते । उद्योग सङ्गठन मोरङले नजिकिँदै गरेको सुक्खा मौसममा उद्योग–व्यवसाय क्षेत्रका लागि आवश्यक विद्युत् आपूर्तिको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी हिउँदमा हुन सक्ने विद्युत् आपूर्तिको समस्यासँगै आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न मागहरू राखेको हो । 

भेटका क्रममा सङ्गठनले सुक्खायाममा उद्योगमा हुन सक्ने विद्युत् कटौतीले उत्पादनमा प्रत्यक्ष असर पार्ने भन्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन आग्रह गरेको सङ्गठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विद्युत् आपूर्तिको विषयलाई प्राथमिकताका साथ उठाउँदै टोलीले सुनसरीको बर्जुमा निर्माणाधीन सबस्टेसनको काम अविलम्ब सम्पन्न गर्न र सुनसरी–मोरङ–कटहरी औद्योगिक कोरिडोरका जीर्ण ट्रान्समिसन लाइनको तत्काल मर्मतसम्भार गर्नुपर्नेमा जोड दिएको छ । 

विद्युत् आपूर्तिको विषयसँगै सङ्गठनले अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको मनोबल उकास्न विभिन्न आठबुँदे सुझाव पनि मन्त्रीसमक्ष प्रस्तुत गरेको जनाएको छ । सङ्गठनले हालै कार्यान्वयनमा आएको नयाँ भन्सार ऐन, २०८२ मा उद्योग व्यवसायलाई दीर्घकालीन असर पार्ने प्रावधान रहेकाले तिनलाई तत्काल संशोधन गर्न माग गरेको छ । 

त्यस्तै निर्यातजन्य उद्योगलाई दिइँदै आएको नगद अनुदानको व्यवस्थालाई निरन्तरता दिँदै कार्यविधि बनाएर तत्काल निवेदन लिने प्रक्रिया सुरु गर्न आग्रह गरिएको छ । बजार सुस्त भएको अवस्थामा अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सरकारले पुँजीगत तथा सार्वजनिक खर्च वृद्धि गर्नुपर्ने सुझाव पनि प्रतिनिधिमण्डलले दिएको छ ।

टोलीले विराटनगर आइसिपीसम्मको कार्गो रेलसेवालाई व्यावसायिक बनाउन ह्यान्डलिङ शुल्क परिमार्जन गर्नुपर्ने, मोरङ–कटहरी हुलाकी सडकको निर्माण छिटो सक्नुपर्ने र सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्नुपर्ने जस्ता माग राखेको छ । सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै सरकारले शान्तिसुरक्षाको प्रत्याभूति र भरोसायुक्त सन्देशमार्फत व्यवसायीको खस्कँदो मनोबल उकास्नुपर्ने बताउनुभयो । जवाफमा मन्त्रीहरूले सुझावलाई सकारात्मक रूपमा लिँदै तत्काल गर्न सकिने काम अघि बढाउने र नीतिगत विषय आगामी सरकारका लागि ‘नोट’ का रूपमा राख्ने प्रतिबद्धता व्यक्त गरेको सङ्गठनले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

प्रतिनिधि मण्डलमा सङ्गठनका निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा, विपिन कावरालगायत सहभागी हुनुहुन्थ्यो ।