• २० असोज २०८१, आइतबार

सिमेन्ट निर्यातको खुसी

blog

सानो उपलब्धिले समेत कहिलेकाहीँ ठूलो खुसी दिन्छ । सिमेन्ट निर्यात हुन थालेर नेपाललाई यस्तै खुसी प्राप्त भएको छ । वार्षिक १८ खर्ब रुपियाँ हाराहारीको आयात र दुई खर्ब रुपियाँ हाराहारीको मात्र निर्यातले अर्थतन्त्रमा विदेशी मुद्राको ठूलो चाप परिरहँदा यो उलपब्धि आफैँमा खुसी हो । त्यसै पनि विदेशी मुद्रा आर्जन गर्ने आधार सीमित छ र आयात गर्न नेपाली मुद्रामा हुँदैन ।

आयातका लागि सम्बन्धित देशको मुद्रा वा सबैतिर मान्य अमेरिकी डलरकै आवश्यकता पर्छ । विदेशी मुद्रा विप्रेषण, वैदेशिक लगानी, अनुदान, सहयोग र पर्यटनजस्ता अति सीमित माध्यमबाट आउने हो र ती सबै बाटा उत्साहजनक छैनन् । यस्तो अवस्थामा शुक्रबारबाट भारतमा सिमेन्ट निर्यात सुरु भएको छ । विद्युत् निर्यात हुन थालेको केही समयपछि सिमेन्ट निर्यात हुन थाल्दा यसले आशाको दियो बालेको छ । 

आयात बढ्दै जाँदा व्यापार घाटा निरन्तर उकालो लागेको थियो । चर्को व्यापार घाटा कुनै बिन्दुमा गएर सङ्कट बन्न सक्छ भन्ने उदाहरण ताजा छन् । विदेशी मुद्राको अभाव भएर कतिपय देश अहिले ठूलै आर्थिक सङ्कट भोग्दैछन् । सार्क मुलुक 

श्रीलङ्का त अहिले टाट पल्टिएकै अवस्थामा छ । इन्धन नभएर विद्यालय बन्द गर्नुपरेको छ । इन्धन प्राप्त गर्न सवारीसाधन ४८ घण्टासम्म पम्पमा लाम बस्छन् । पाकिस्तानको हालतसमेत राम्रो छैन । मलेसियाका राजनेता महाथिर मोहम्मदले समयमै सजग नभए एसियाली धेरै देशको अवस्था ढिलाचाँडो श्रीलङ्काकै जस्तो हुनेछ भनेर सचेत गर्नु सानो विषय होइन ।

यस्तो अवस्थामा नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको समाचारले धेरै ठूलो खुसीको सञ्चार गर्नु स्वाभाविक हो तर अझै गर्नुपर्ने काम भने धेरै छन् । सरकार र निजी क्षेत्रको मत मिल्यो भने आगामी दिनमा राम्रै परिमाणमा सिमेन्ट भारत निर्यात हुन सक्नेछ । 

सिमेन्ट निर्यातको थालनी भने पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले थालेको हो । उसले उत्पादन गरेको ‘तानसेन’ सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक पहिलो खेप भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगको उपलब्धि राम्रै मान्नुपर्छ । अब उद्योगले मागका आधारमा सिमेन्ट पठाउनेछ । यसबाट नेपालका अरू उद्योगलाई समेत सिमेन्ट निर्यात गर्ने बाटो खुलेको छ । 

सिमेन्ट निर्यात गर्न सरकारले समेत सकारात्मक वातावरण निर्माण गरेको छ । कुनै बेला भारतबाट आयात गर्नुपर्ने सिमेन्टमा केही वर्षयता भने देश स्वनिर्भर हुँदै गएको थियो । स्वनिर्भर भएपछि निजी क्षेत्रले सिमेन्ट निर्यातको वातावरण तयार गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । सरकारले त्यसका लागि प्रयास अगाडि बढायो । फलस्वरूप निर्यातको थालनी सम्भव भयो । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले त सिमेन्ट उद्योगको मागलाई राम्रै सम्बोधन गरेको छ । बजेटले सिमेन्टलाई निर्यातयोग्य वस्तुमा समावेश गरेको छ ।

त्यसका लागि निर्यातमा आठ प्रतिशत अनुदानको व्यवस्था नै गरेको छ । उत्पादनलाई सहयोग गर्न सरकारले थप सहुलियतसमेत दिएको छ । त्यस क्रममा वार्षिक १० करोड रुपियाँभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था बजेटले गरेको छ । सिमेन्ट उद्योगले सरकारको नयाँ नीतिबाट फाइदा लिन सक्नेछन् । सिमेन्टको खानीसम्म पहुँच मार्ग र विद्युत् लाइन निर्माणको सुविधासमेत छ ।

सिमेन्ट उत्पादक सङ्घका अनुसार नेपालबाट वार्षिक एक खर्ब ५० अर्ब रुपियाँको सिमेन्ट निर्यातको सम्भावना रहेको छ । अहिले नेपालमा निजी क्षेत्रमा ६५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । दुईवटा सरकारी सिमेन्ट उद्योगले पनि सिमेन्ट उत्पादन गरिरहेका छन् ।

सबै उद्योगबाट नेपालमा वार्षिक दुई करोड ५० लाख मेट्रिक टन सिमेन्ट उत्पादन हुनसक्छ तर नेपालमा वार्षिक माग एक करोड मेट्रिक टन मात्र खपत हुन्छ । यो हिसाबले वार्षिक एक करोड ५० लाख मेट्रिक टन सिमेन्ट भारत निर्यात हुन सक्ने स्पष्टै छ । भारतमा सिमेन्ट निर्यातलाई दिगो बनाउन त्यहाँबाट गुणस्तर चिह्न लिनुपर्ने हुन्छ । त्यसका लागि भने तत्कालै एकीकृत प्रयास जरुरी छ ।