• १३ साउन २०८१, आइतबार

विकास निर्माण प्राथमिकतामा : मन्त्री राई

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई शनिबार नेपालगञ्जमा आयोजित कार्यक्रममा । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असार २५ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बर्तमान सरकारले दीर्घकालिन विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ । “अब सबै राजनीतिक दलले विकासको एजेण्डा लिएर जनतामाझ जानुपर्छ”, नेपालगञ्ज उपमहानगरपालिका २० ले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री राईले भन्नुभयो, “विकासबाहेक अन्य एजेण्डाको नाममा मत माग्न आउनेलाई आम जनताले पनि साथ दिन हुँदैन” ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा तेस्रो पटक मन्त्रीमा नियुक्त भएपछि शनिबार पहिलो पटक गृहनगर नेपालगञ्ज आउनुभएका मन्त्री राईले जाति, भाषा, धर्म र अवसान भइसकेको मुद्दाको नाममा राजनीति गर्नेलाई बाँकेबासीले सधै अस्वीकार गरिरहेको बताउनुभयो । 

समाजवादी पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिदै मन्त्री राईले कुनैपनि खालको जात, भाषा, धर्मको नाममा नभई विकासको एजेण्डाको आधारमा जनताको अगाडि प्रस्तुत हुन आग्रह गर्नुभयो । शिक्षा, स्वास्थ्य र बेरोजगारीजस्ता समस्या समाधानका लागि आफुले पहल गर्ने उहाँले आश्वासन दिनुभयो । 

बाँकेबासीले निरन्तर साथ र सहयोग गरेकाकारण आफु तेस्रो पटक मन्त्री हुन सफल भएको भन्दै उहाँले क्षेत्र नम्बर २ का मतदाताप्रति आभार प्रकट गर्नुभयो । यसअघि सहरी विकास मन्त्रीको रुपमा बाँके जिल्लामा महत्वपूर्ण योजनाको काम अघि बढाएको भन्दै उहाँले छोटो कार्यकाल भएपनि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा जनताले पछिसम्म सम्झनलायक काम गरेर देखाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

सो अवसरमा मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राई, वडा अध्यक्ष कौशलकुमार धोवी लगायतले सडक निर्माण, पशु अस्पताल लगायतका विभिन्न माग राख्नुभएको थियो ।