काठमाडौं, असार २५ गते । ललितपुर महानगरपालिका–१४ नखिपोटमा बहुउपयोगी कभर्ड हल निर्माण गरिएको छ । सरकार र स्थानीयवासीको रु दुई करोड ५० लाख लगानीमा निर्माण गरिएको सो कभर्ड हलको आज एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले स्थानीय जनताको सक्रियतामा निर्माण भएको कभर्ड हलको उपयोगबाट जनताको स्वास्थ्य सकारत्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भुसालले सो कभर्ड हलको उचित संरक्षण र मर्मतसम्भार गर्दै उपयोगमा ल्याउन आग्रह गर्नुभयो ।
“तीन तहका सरकारका समन्वयबाट जनतालाई सेवा दिने हो, त्यसका लागि निरन्तर पहल गरिरहेको छु”, उहाँले भन्नुभयो, “आगामी दिनमा जनताको आवश्यकताअनुसार खानेपानी, सडकलगायत पूर्वाधार निर्माणलाई मैले प्राथमिकता दिनेछु ।” मन्त्री भुसालले स्वदेशी उत्पादनको प्रवर्द्धन र उपयोग गर्दा नै राष्ट्रियता सबल हुने उल्लेख गर्दै स्वदेशमै उत्पादित कृषिजन्य वस्तुको उपयोगलाई बढवा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सांसद राजकाजी महर्जनले खेल र स्वास्थ्यलाई मध्यनजर गर्दै आफूले कभर्ड हल निर्माण गर्न सहजीकरण गरेको बताउनुभयो । उहाँले ललितपुरमा एक दर्जन बढी त्यस्ता कभर्ड हल निर्माण सम्पन्न भएको जनाउनुभयो । 
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                