• २५ पुस २०८१, बिहिबार

मोटरेवल पुल निर्माणले स्थानीय लाभान्वित

blog

कपिलवस्तुको बाणगंगा नगरपालिकाको मोर्मीमा निर्माण गरिएको मोटरेवल पुल । तस्विर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असार २५ गते । कपिलवस्तु बाणगंगा नगरपालिकाको मोर्मीस्थित कोइली खोलामा आवतजावत गर्न स्थानीयहरु काठे पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । पञ्चायत कालदेखि पक्की पुलको माग गरेपनि सुनुवाई नहुँदा स्थानीयलाई सास्ती भएको थियो । लुम्बिनी प्रदेश सरकारले सो खोलामा मोटरेवल पुल निर्माण गरेपछि स्थानीय लाभान्वित भएका छन् ।

नगरपालिको वडा ८ र ९ जोड्ने सो खोलामा पुल बनेपछि अर्घाखाँची जोड्ने दूरी समेत छोटिएको छ । लुम्बिनी प्रदेश सरकारले ४ करोड बढी रकमको लागतमा पुल बनेपछि बोडगाउँ हुुँदै अर्घाखाँची पुग्ने दूरी ८ किलोमिटर छोटो भएको छ । 

बोडगाउँ जिनुवा हुँदै गोरुसिङ्गे सन्धीखर्क सडकखण्ड अन्तर्गत शितगंगा नगरपालिकाको डोहेटो पुग्नको लागि सहज भएको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बताउनुभयो । पुल नहुँदा स्थानीयले काठको पुलबाट यात्रा गर्दैआएका थिए । आर्थिक वर्ष ०७५–७६ बाट पुलको निर्माण सुरु भएको भएपनि अहिले आएर सम्पन्न भएको छ । 

पुल बनेपछि स्थानीय कृषि उत्पादन बजारसम्म लग्न र आवत जावत गर्न सहज भएको स्थानीय अगुवा टुकलाल गैरेले बताउनुभयो ।