• १८ असार २०८१, मङ्गलबार

सशस्त्र प्रहरीको उपचारमा मेडिकल कलेजले सहुलियत दिने

blog

सम्झौतापत्र आदानप्रदानपछि दुबै संस्थाका अधिकारीहरु । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार २५ गते । नेपालगञ्ज मेडिकल कलेज (एनजीएमसी) र सशस्त्र प्रहरी अस्पतालवीच सहुलियतमा सशस्त्र प्रहरीहरुको उपचार गर्ने सम्झौता भएको छ । सो सम्झौता सशस्त्र प्रहरी बल महिला सङ्घको समन्वयमा भएको हो । 

सशस्त्र प्रहरी अस्पतालले रिफर गरेका बहालवाला सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरी र  परिवारका सदस्यहरुको उपचारमा नेपालगञ्ज मेडिकल कलेजले विशेष सहुलियत दिनेगरी सम्झौता भएको मेडिकल कलेज नेपालगञ्ज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले बताउनुभयो ।  

सशस्त्र प्रहरी अस्पताल नौबस्ताबाट रिफर भएर आएका सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरी र उहाँका परिवारलाई उपचारमा सहुलियत दिनेगरी दुबै संस्थावीच सम्झौता भएको बताउनुभयो । सम्झौताले यस क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीको उपचारमा सहजता हुनुका साथै उहाँहरुको आर्थिक अवस्था हेरेर सहुलियत प्रदान गरिने सशस्त्र प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले बताउनुभयो । 

यो सम्झौताबाट बहालवाला सशस्त्र प्रहरी, पुर्व प्रहरी र उहाँका परिवारले लाभ पाउने पनि बताउनुभयो । उक्त सम्झौता साउन १ गतेदेखि लागु हुने र हालका लागि एक वर्षसम्म कायम रहने प्रहरी उपरीक्षक डा. कर्माचार्यले बताउनुभयो ।

सम्भौतामा मेडिकल कलेजको तर्फबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी शिक्षण अस्पताल नेपालगञ्जका प्रमुख कार्यकारी अधिकृत डा. सुनिलकुमार सिंह र सशस्त्र प्रहरी अस्पतालको तर्फबाट डीआइजी डा. रुपक महर्जनले हस्ताक्षर गर्नुभयो ।  

सो सम्झौतापत्र सशस्त्र प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा.कर्माचार्य र लर्डबुद्ध एजुकेशनल एकेडेमी शिक्षण अस्पताल नेपालगञ्जका प्रमुख कार्यकारी अधिकृत डा. सिंहले एक अर्कालाई हस्तान्तरण गर्नुभयो ।  

बाँकेको नौबस्तामा सशस्त्र प्रहरीको १५ बेडको अस्पताल सञ्चालनमा छ । यसअघि केही दिन पहिले मात्रै सोही प्रकारको सम्झौता नेपाल प्रहरीको मध्यपश्चिम क्षेत्रीय अस्पताल र मेडिकल कलेजवीच भएको थियो ।