• ७ वैशाख २०८१, शुक्रबार

श्रीलङ्का : राष्ट्रपति निवासमा प्रदर्शनकारी, राजापाक्ष सुरक्षित स्थानतर्फ

blog

कोलम्बो, असार २५ गते । हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरिनुभएको छ । 

शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उहाँ सुरक्षित स्थानतर्फ प्रस्थान गर्नुभएको डेलि मिरर दैनिकले जनाएको छ । राष्ट्रपति निवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ ।


यसअघि आन्दोलनकारीहरुले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । स्थानीय समय अनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यू अादेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू कार्यान्वयनका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु परिचालित भएका छन् ।

राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उहाँको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन गरेका हुन् ।

श्रीलङ्काको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ । उहाँहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य बृद्धि न्यूनीकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाइ छ ।

दुवै जना आफ्नो जिम्मेवारीमा असफल भएकाले उहाँहरुले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ । उहाँहरुले राजीनामा दिएमा अर्को व्यक्तिले सङ्कटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनुपरेको थियो ।